कीवर्डहरू -

पैसा नतिरेको भन्दै ट्वीटरले खोस्यो प्रधानमन्त्री कार्यालयदेखि व्यक्ति, संस्थाको ‘ब्लू टिक’

पैसा नतिरेको भन्दै ट्वीटरले खोस्यो प्रधानमन्त्री कार्यालयदेखि व्यक्ति, संस्थाको ‘ब्लू टिक’

माइक्रोब्लगिङ साइट ट्वीटरका सिइओ एलन मस्कले पैसा नतिर्ने प्रयोगकर्ताहरुको ट्वीटरको ब्लू टिक हटाउन थालेका छन् ।

शुल्क नतिरिकनै ब्लू टिक पाइरहेका ट्वीटर प्रयोगकर्ताले शुल्क नबुझाएपछि मस्कले अकाउन्टबाट ब्लू टिक प्राप्त गरेका प्रयोगकर्ताको निलो टिको  धमाधम हटाउन थालेका हुन् ।

यसअघि मस्कले शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेसँगै कम्पनीले पैसा नतिर्ने प्रयोगकर्ताको चेकमार्क हटाउने चेतावनी दिँदै आएका थिए।

ब्लु चेकमार्कका लागि प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने व्यवस्था छ । व्यवसायहरूका लागि सब्क्रिप्सनबिना नै गोल्डेन टिकको व्यवस्था गरेको छ भने सरकारी खाताहरूका लागि ब्राउन टिकको दिँदै आएको छ।

कम्पनीले सन् २००९ देखि नक्कली एकाउन्टहरूलाई निरुत्साहन गर्न भेरिफिकेसनको सुरुवात गरेको थियो । यद्यपि सन् २०२२ मा एलन मस्कले ट्वीटर खरिद गरेपछि उनले यो नियम परिवर्तन गर्दै निलो टिकोमार्फत सब्सक्रिप्सन प्रणाली सुरु गरेको थियो।

यसरी ब्लूटिक हट्नेमा नेपालको प्रधानमन्त्री कार्यालयको अफिसियल ट्वीटर,  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को अकाउन्ट पनि रहेको छ ।

योसँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व, संघस्थालगायत नेपाली मिडियाहरूको पनि ब्लू टिक ट्वीटरले खोसेको छ। विश्व फुटवलका चर्चित खेलाडी क्रिष्चियानो रोनाल्डोको पनि भेरिफाइड ब्लू टिक ट्वीटरले खोसिदिएको छ भने चर्चित फुटबल क्लब एफसी बार्सिलोनाको अफिसियल ट्विटरको ब्लू टिक हटाइएको छ । यस्तै इन्डियन प्रिमियर लिगको पनि अफिसियल ब्लू टिक हटेको छ।

यस्तै चर्चित बलिउड सेलिब्रेटीहरु सलमान खान, शाहरूख खान, अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन, माधुरी दिक्षित, प्रियंका चोपडा, अक्षय कुमार, एकता कपूर, कनिल कपूर,  कपिल शर्मालगायतको ब्लू टिक पैसा नतिरेको भन्‍दै ट्वीटरले हटाइ दिएको छ ।

हाल ट्वीटरको ब्लू सब्सक्रिप्सन फिचर अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्याण्ड र जापानमा मात्र सुरु गरिएको छ ।

ट्वीटर ब्लू सब्सक्रिप्सनसँगै प्रयोगकर्तालाई निलो चेकमार्क अर्थात् टिक उपलब्ध गराइनेछ । साथै ब्लू सब्सक्रिप्सन गरेका प्रयोगकर्ताका लागि आफ्नो ट्वीट सम्पादन गर्ने, १०८० पिक्सेलको भिडियो अपलोड गर्ने तथा रिडर मोडमा लैजाने लगायतका सुविधा प्राप्त हुनेछन् ।

साथै ब्लू टिक खरीद गरेका प्रयोगकर्ताले ट्वीटरमा अन्य आम प्रयोगकर्ताको तुलनामा कम विज्ञापन हेर्नुपर्नेछ । भेरिफाइड ट्वीटर प्रयोगकर्ताको ट्वीटमा रिप्लाई तथा ट्वीटमा समेत प्राथमिकता मिल्नेछ ।