कीवर्डहरू -

गलकोट नगरपालिकाको सार्वजनिक स्थलमा सिसि क्यामेरा सञ्चालनमा

गलकोट नगरपालिकाको सार्वजनिक स्थलमा सिसि क्यामेरा सञ्चालनमा

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभुति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सिसि क्यामेरा सञ्चालनमा ल्याइएको बताएका छन् ।

उनले प्रहरीको सिमीत स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहनुे भन्दै अपराधिक अनुसन्धानमा सहयोग पुर्याउन प्रविधिलाई प्रयोगमा ल्याईएको नगर प्रमुख गैरेले बताए । ईलाका प्रहरी कार्यालयसँगको समन्वयमा सिसि क्यामेरा जडान गरिएको नगर प्रमुख गैरेले उल्लेख गरेका थिए । सिसि क्यामेरा सञ्चालनमा आए सँगै नगर भित्र हुने अपराध, अनुसन्धान, चोरी, लुटपाट लगायतका अपराधिक क्रियाकलाप न्यूनिकरणमा सहयोग पुग्ने कुरामा विश्वास व्यक्त समेत गरेका थिए ।

गलकोट नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसि क्यामेरा आज सोमबार उद्घाटन गरि प्रहरीलाई हस्तान्तरण गरिएको छ । गलकोट नगरपालिकाको मुख्य प्रवेशद्धार भ्यु टावर देखी, बाँसखोलासम्म सिसि क्यामेरा जडान भएका छन् ।

शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न ट्राफिक नियमको उल्लङघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन र राजमार्ग क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रणमा सिसि क्यामेराले सहयोग पुग्ने गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले जानकारी दिएका छन् । नगर उपप्रमुख निउरेले गलकोट नगरपालिका भित्रका १९ स्थानमा २० वटा सिसि टिभि क्यामेरा जडान गरिएको बताएका छन् ।

कार्यालयमा बसेर मध्यपहाडी लोकमार्ग क्षेत्र, मानिसको बढि मात्रामा जमघट हुने सार्वजनिक स्थानमा निगरानी गर्न सकिने र अपराधिक व्यक्तिको पनि पहिचान छिट्टै हुने भएकाले सिसि क्यामेरा जडान भएपछि सहज भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख डेकेन्द्र शर्माले जानकारी दिएका छन् ।

सिसि क्यामेरा सञ्चालनमा आएपछि राजमार्ग क्षेत्रमा दुर्घटना भएलगत्तै उद्धार गर्न सकिने, लागु औषध सेवनकर्ता, अपराधिक क्रियाकलापमा संलग्न हुने व्यक्तिहरु समेत निरुत्साहित हुने प्रहरीको विश्वास छ ।

सिसि क्यामेरा गलकोट नगरपालिकाको भ्यू टावर, दुदिलाभाटी बजार, नरेठाँटी बजार, नरेठाँटी पुलचोक, ढलेपिपल, डाँडाखेत, हटिया सिवाईसि चोक, हटिया बजार, सिमखेत, घट्टेखोला, हटिया प्रगति चोक, भैंसेपुल, आँगाखेत चोक, बाँसखोला, मनसुन चोक, गलकोट नगरपालिका चोक, हरिचौर बजार, गलकोट नगरपालिका वडा नम्वर ५ नमस्ते चोक,  र वडा नम्वर ६ मा जडान गरिएको गलकोट नगरपालिकाले जनाएको छ ।