कीवर्डहरू -

क्यान महासंघ मकवानपुरद्वारा अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन

क्यान महासंघ मकवानपुरद्वारा अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन

क्यान महासंघ मकवानपुर जिल्ला शाखाले अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन गरेको छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र सम्वृद्धि’ भन्ने मूलनाराका साथ मे २ मा मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा आयोजना गरिएको अंग्रेजी टाइपिङ प्रतियोगितामा कूल ४५ जनाको सहभागिता रहेको थियो ।

क्यान मकवानपुर अध्यक्ष शिवकुमार श्रेष्ठको सभाध्यक्ष र हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्यान बागमती प्रदेशका अध्यक्ष पुष्प राज पुडासैनी विशिष्ट अतिथि, मकवानपुर उद्योग वाणिज्य महासंघका वरीष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल अतिथि रहेका थिए ।

प्रमुख अतिथि नवीन सिग्देलले विद्यार्थीको भविष्य नै राष्ट्रको भविष्य भएकोले बाटोघाटो भवना मात्र नभई शैक्षिक क्षेत्रको गुणस्तर बढाउनमा स्थानीय तह लागिपरेको तथा क्यान मकवानपुरसँग आउँदा समयमा सूचना प्रविधि क्षेत्रका विविध कार्यक्रमहरूमा सहकार्य गर्न ईच्छुक रहेको बताए ।

निर्णायक टोलीमा मकवानपुर बहुमुखी क्याम्पस सूचना प्रविधि विषयका प्राध्यापक ईन्द्रप्रसाद सापकोटा र  हेटौंडा स्कूल अफ म्यानेजमेन्ट का सूचना प्रविधि प्राध्यापक निरज श्रेष्ठ थिए ।

हेटौंडाका ८ वटा ईन्स्टिच्युट तथा अन्य विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा रियल युनिक कम्प्युटर ईन्स्टिच्युटमा अध्ययनरत म्याक्स राना मगर प्रथम, गुडविल कम्प्युटरमा अध्ययनरत पूर्णिमा तामाङ द्वितीय एवम् बागमती एजूकेशन कन्सल्टेन्सीमा अध्ययनरत सामना बलले तृतीय स्थान हासिल गरेका हुन् ।

प्रथम, द्वितीय र तृतीयहरूले पुरस्कार राशी क्रमश ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन् । सहभागी सबैले प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।

कार्यक्रमको सहयोगी संस्थाहरु स्टार कम्युटर सिस्टम, पेन्टागन एकेडेमी, टेकलाईट ग्रुप र रियल युनिक कम्प्युटर ईन्स्टिच्युट रहेका थिए ।

क्यान मकवानपुरका सचिव गोविन्द चौलागाईँले सहजीकरण गर्नु भएको कार्यक्रम रियल युनिक कम्प्युटर ईन्स्टिच्युटमा आयोजना भएको हो ।