कीवर्डहरू -

विरेन्द्र मिश्र नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित

विरेन्द्र मिश्र नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित

सरकारी सेवालाई डिजिटाइज गर्न महत्वपूर्ण योगदान दिएका पूर्व सह-सचिव विरेन्द्र मिश्र नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा सरकारले उनलाई १ लाख नगद र प्रमाणपत्रसहित नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मान गरेको हो ।

२०४४ सालमा सिस्टम प्रोग्रामरको रुपमा सरकारी सेवामा प्रवेश गरेका विरेन्द्र मिश्र, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा एक परिचित नाम हो । सरकारी सेवालाई कम्प्युटराइज, डिजिटलाइज तथा डिजिटलाइजेसनको प्रयासमा उनको योगदान महत्वपूर्ण रहेको छ ।

लोकसेवा आयोग र महालेखा नियन्त्रकको कार्यालयमा उनले २०५५ सालसम्म कम्प्युटर अफिसरको रुपमा काम गरेका थिए । त्यहाँ रहँदा कम्प्युटराइजेसनसँगै सरकारी लेखा व्यवस्थापन सूचना प्रणालीको डेभलपमेन्ट र इप्लिमेन्टेसनमा काम गरेका थिए ।

त्यसपश्चात आन्तरिक राजश्व विभागमा आइटी निर्देशकको रुपमा १४ वर्ष र सहसचिव भएपश्चात विज्ञको रुपमा थप एक वर्ष सेवा गरेका थिए ।

विभागमा रहदा मिश्रले भ्याट, ट्याक्स लगायतका राजश्वसँग सम्वन्धित सेवाहरुलाई सफ्टवेयर, आइटी सिस्टम र एप्लिकेशनहरुको डिजाइन, डेभलपमेन्ट र इप्लिमेन्टेशनमा महत्वपूर्ण योगदान दिएका थिए, जसले कारण, राजश्व विभाग अहिले पुणर्रुपमा डिजिटलाइज हुन महत्वपूर्ण आधार तयार भएको थियो ।

२०७० सालदेखि आइटी विभागको निर्देशक भएर काम गर्दा मिश्रले गर्भन्मेन्ट क्लाउड इन्फास्ट्रक्चर, सेन्ट्रलाइज इ एटेन्डेन्स सिस्टम लागु गरेका थिए । इ भिलेजको कन्सेप्ट र आइटी पार्क सञ्चालनको लागि उनले उल्लेख्य प्रयास गरेका थिए ।

मिश्रले कन्ट्रोलर अफ सर्टिफिकेसन र निर्वाचन आयोगमा रहेर सेवा गर्दा पनि सूचना प्रविधिको प्रयोगमा उल्लेख्य काम गरेका छन् । २०७६ पुससम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा १ वर्ष ७ महिना काम गर्दा डिजिटल नेपाल फ्रेमवर्क विकास र त्यसलाई मन्त्रिपरिषदबाट पारित गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सरकारी सेवाबाट अवकाश भएपनि सूचना प्रविधि क्षेत्रमा उनको सकृयता लोभलाग्दो छ । नेपाल दुरसञ्चार प्राधिकरण, स्वास्थ मन्त्रालय, वागमती प्रदेश सरकारसँग पनि जोडिएर आइसिटीसँग सवन्धित नीति तथा परियोजनामा काम गरिरहेका छन् । ३५ वर्ष सरकारी सेवामा रहँदा मिश्रले आउटस्टान्डिङ सिभिल सर्भिस अवार्ड र नेपाल सरकारबाट पब्लिक सर्भिस मेडल समेत प्राप्त गरेका थिए ।