कीवर्डहरू -

एलन मस्कको स्टारशिप विस्फोटले प्रदूषण फैलाएको भन्दै अमेरिकी अदालतमा मुद्दा

एलन मस्कको स्टारशिप विस्फोटले प्रदूषण फैलाएको भन्दै अमेरिकी अदालतमा मुद्दा

एलन मस्कको कम्पनी स्पेसएक्सले गत महिना शक्तिशाली रकेट ‘स्टारशिप’को परीक्षण गर्दा विस्फोट भई प्रदूषण फैलाएको र वातावरणीय चक्रमा असर परेको भन्‍दै पर्यावरण समूहले अमेरिकाको नियामक निकाय संघीय उड्डयन प्रशासन (एफएए) विरुद्ध मुद्दा हालेको छ।

समाचार एजेन्सी एपीका अनुसार एफएएले रकेट प्रक्षेपणबाट भएको क्षतिको विस्तृत विश्लेषण नगरेको र हचुवाको भरमा अनुमति दिएको भन्‍दै वन्यजन्तु तथा वातावरणीय समूहले एफएएविरुद्ध अदालतमा मुद्दा हालेको हो ।

उक्त वातावरणीय समूहले वाशिङ्गटनको संघीय जिल्ला अदालतमा मुद्दा दायर गरेको एपीले जनाएको छ। साथै एफएएले स्पेसएक्सलाई अर्को ५ वर्षको लागि प्रति वर्ष २० स्टारशिप प्रक्षेपण गर्न दिएको इजाजतपत्र खारेज गर्न वातावरण समूहले अदालतसँग माग गरेको छ।

स्पेसएक्सले दक्षिण टेक्सासको बोकाचिका तटमा रहेको आफ्नो साइटबाट अप्रिल २० मा पहिलो पटक स्टारशिप रकेट परीक्षण गरेको थियो। करिब १२० मिटर अग्लो स्टारशिप रकेट ३९ किलोमिटरको उचाइसम्म उडेको थियो। तर, केही प्राविधिक त्रुटिका कारण ३ मिनेटपछि मेक्सिकोको खाडीमा रकेट विस्फोट गरिएको थियो। प्रक्षेपणका कारण स्पेसएक्सको रकेट लन्चिङ्ग साइट पनि क्षतिग्रस्त भएको थियो, जसका तस्वीरहरू सार्वजनिक भएका थिए।

धेरै संस्थाहरूले यो प्रक्षेपण परीक्षणको चर्को आलोचना गरेका थिए। सेन्टर फर बायोलजिकल डाइभर्सिटी, द अमेरिकन बर्ड कन्जर्भेन्सी, द सर्फिडर फाउन्डेसनलगायत अन्य संस्थाले अब मुद्दा दायर गरेका छन्। प्रक्षेपणका कारण आसपासका क्षेत्रमा पुगेका धुलो र प्रदूषणका कण मापदण्डभन्दा बढी रहेको बताइएको छ।

तर, एलन मस्कले भनेका छन्, ‘ हाम्रो अध्ययन अनुसार वातावरणलाई त्यति असर गर्ने खालको केही भएको छैन।हामी वातावरणीय  पर्यावरण बारेमा सचेत छौं।’ मस्कले अर्को स्टारशीप प्रक्षेपणमा यो कुरालाई ध्यान दिने प्रतिवद्धता जनाएका छन् ।

तर पर्यावरणीय समूह र संस्थाहरूका अनुसार जहाँबाट यो प्रक्षेपण गरिएको थियो त्यो स्थान धेरै लोपोन्मुख प्रजातिहरूको बासस्थान हो। स्टारशीप प्रक्षेपण र विस्फोटको घटनाले वरपरको क्षेत्रमा तीव्र गर्मी, ध्वनिरप्रकाश प्रदूषण भएको थियो। त्यतिमात्र नभएर रकेटको  फोहोर आवासीय क्षेत्रमा पनि फैलिएको छ। एफएएले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको एपीले रिपोर्ट गरेको छ।
नियामक निकायले स्टारशीप प्रक्षेपणको अनुसन्धान गरिरहेको छ। अनुसन्धान पूरा नभएसम्म स्टारशीपको आगामी प्रक्षेपण परीक्षणहरू स्थगित गरिएको छ।