विज्ञापन भरेका उम्मेदवारहरुको डेटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ ।आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो ।
सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्ने र पुनः दरखास्त दिँदा शुल्क तिर्न नपर्ने लोक सेवा आयोगले जनाएको छ । आयोगले बुधबारको गोरखापत्रमा ८८२ पदका लागि पुनः तीन पृष्ठ लामो विज्ञापन प्रकाशित गरेको छ।
लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डेटा सेन्टर ९जीआईडीसी० बाट हराएका डेटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको हो ।
डेटा रिकभरीको प्रयास भइरहेको तर यो प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डेटा रिकभरी हुने एकिन गर्न नसकिने भएकाले २०८० साल जेठ महिनादेखि सञ्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित भएको आयोगले जनाएको छ।
पुनः दरखास्त दिँदा पहिले जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने छ । पुनः दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरु अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ । साथै साविकमा स्वीकृत हुन बाँकी रहेका दरखास्तसँग सम्बन्धित पुनः दरखास्तहरु जाँच गरी यथाशीघ्र स्वीकृतिको कार्य सम्पन्न गर्ने पनि आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
दरखास्त स्वीकृत भएको जानकारी सम्बन्धित उम्मेदवारहरुले एसएमएसबाट प्राप्त गर्नेछन् । दरखास्त स्वीकृत भएपछि नयाँ रोलनम्बरसहितको प्रवेशपत्र जारी हुने आयोगले जनाएको छ ।