कीवर्डहरू -

ठमेलभित्रका सडकमा सिसी टिभी क्यामरा जडान गरिने

ठमेलभित्रका सडकमा सिसी टिभी क्यामरा जडान गरिने

संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी टिभी क्यामरा जडान गरिने भएको छ।

काठमाडौं महानगरपालिकाले ठमेल पर्यटन विकास परिषदसँगको सहकार्यमा ठमेलभित्रका सडकमा सिसी टिभी क्यामरा जडान गर्न लागेको हो।

ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे काठमाडौं महानगरपालिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल तथा ठमेल पर्यटन विकास परिषदको टोलीले बुधबार स्थलगत अवलोकनसमेत गरेको छ।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले भने, 'ठमेलभित्रका कुन चोक तथा सडकमा सिसी क्यामरा आवश्यक छ भन्नेबारे आज काठमाडौं महानगरपालिका, नेपाल प्रहरी र ठमेल पर्यटन विकास परिषदको टोलीले पाँच घन्टा लगाएर स्थलगत अवलोकन गरेको छ। चाँडै नै जडान हुन्छ।'

नेपालभित्र घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल पुग्छन्। ठमेलभित्र आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति दिलाउन सिसी क्यामरा जडान गर्न लागिएको शर्माले बताए।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धितालले ठमेलभित्रका सडकमा एक सयभन्दा बढी सिसी क्यामरा जडान गरिने जानकारी दिए।

काठमाडौंभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा काठमाडौं महानगरले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई ६ करोड रूपैयाँ आर्थिक सहयोग गरेको छ।

उक्त रकमबाट सिसी क्यामरा खरिद गरी आवश्यक पर्ने स्थानमा सिसी टिभी क्यामरा जडान गरिनेछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६, १७, २६ र २७ वडामा पर्ने ठमेलभित्र झन्डै तीन हजार घरधनी तथा व्यवसायी आबद्ध छन्।