कीवर्डहरू -

काठमाडौंमा अव्यवस्थित तार हटाउने काम सुरु

आज माइतीघर मण्डला र न्यूरोड क्षेत्रको तार हटाइदै

काठमाडौंमा अव्यवस्थित तार हटाउने काम सुरु

काठमाडौंमा अव्यवस्थित तार हटाउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तारलाई व्यवस्थित बनाइ अव्‍यस्थित तार हटाउन थालेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु र काठमाडौं महानगरपालिका बीच आइतबार भएको छलफलमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तारलाई व्यवस्थित बनाउने सहमति भएको थियो । सोही सहमति अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रका सडक किनारका पोलहरुमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तारलाई हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम सुरु भएको काठमाडौं महानगरले जनाएको छ ।

अव्यवस्थित तारले शहरी सुन्दरतामा ह्रास आएपछि र दुर्घटनाको जोखिम बढेपछि यसअघि महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिंदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो ।


दूरसञ्चार प्राधिकरणले तार व्यवस्थित बनाउने कामका लागि रुट प्लान समेत सार्वजनिक गरेको छ । माइतीघरदेखि एयरपोर्ट, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, न्युरोड–बसन्तपुर हुँदै असन, माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरीको रुट निर्धारण गरिएको छ ।

यसैगरी डिल्लीबजार–अनामनगर हुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर, नक्शाल–बालुवाटार हुँदै शीतलनिवास, माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर–अस्कल–रानीबारी हुँदै सामाखुसी, सोह्रखुट्टे–ढल्को–ताहचाल हुँदै स्वयंभु, सिनामंगल–पुरानोबानेश्वर हुँदै गौशाला, गौशाला–बौद्धनाथ र कालिमाटी–कुलेश्वर हुँदै बल्खुको रुट प्लान बनाएको प्राधिकरणले जनाएको छ ।

यी रुटहरुमा तार व्यवस्थित गर्ने काममा सबै सेवाप्रदायकहरुलाई अनिवार्य उपस्थित हुन दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । अन्यथा तार काटिएमा वा हटाइएमा सेवाप्रदायक आफैं जिम्मेवार हुनुपर्ने प्राधिकरणले चेतावनी दिएको छ । व्यवस्थित गर्ने क्रममा सेवा प्रदायक संस्थाको नाम वा अनुमतिपत्र नं। खुल्ने गरी तारमा ट्याग लगाउनुपर्ने प्राधिकरणले जनाएको छ ।