कीवर्डहरू -

मोबाइल सेटको प्रयोग र आयातलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि लागु हुँदै एमडीएमएस

मोबाइल सेटको प्रयोग र आयातलाई  व्यवस्थित गर्न जेठ १ गतेदेखि लागु हुँदै एमडीएमएस

नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई  व्यवस्थित गर्न जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै वैशाख १ गतेबाट एमडीएमएस लागु हुने जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरू MDMS  प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।

नेपाल सरकारको ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत  प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले राहदानी/नागरिकता वा Departure Stamp र  Arrival Stamp देखिने राहदानीको  पृष्ठ  वा बोर्डिङ पास कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

नेपाल भित्र मोवाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

साथै मोबाइल आयातकर्ता/ विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितरण गर्न समेत प्राधिकरणले निर्देशन दिएको छ ।

यसअघि पटक पटक लागु हुने भनिए पनि विविध कारणबस एमडीएमएस पूर्ण रूपमा लागु हुन सकेको थिएन् । सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेसँगै एमडीएमएस लागु हुन लागेको हो ।

यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने छन् ।