कीवर्डहरू -

अब अनलाइनबाटै एनओसी डाउनलोड गर्न सकिने, यस्तो छ तरिका 

अब अनलाइनबाटै एनओसी डाउनलोड गर्न सकिने, यस्तो छ तरिका 

अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) डाउनलोड गर्न पाइने भएको छ ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्धि नयाँ निर्देशिका जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै क्युआरसहितको एनओसी डाउनलोड गर्न सकिने व्यवस्था गरेको हो ।

एनओसी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा एनओसी घरबाटै लिन सक्ने व्यवस्थाको सुरूवात गरिएको छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैंले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था सुरु हुनु प्रशंसनीय भएको बताए ।

विद्यार्थीहरुले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको छ । राईले यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेको र चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको बताए ।

उनले भने, ‘नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक पनि गुहार्नु नपर्ने, आफैँले कोठामा बसीबसी आफ्नै कम्प्युटरबाट फर्म भर्न सक्ने आफैँले प्रिन्ट आउट गर्नसक्ने सर्टिफिकेट, त्यहीँबाट पैसा तिर्नसक्ने व्यवस्थामा प्रवेश गर्नु भनेको प्रशंसनीय काम हो, यो शतप्रतिशतमा गएको छैन, ४० प्रतिशत अझै बाँकी नै छ, तर एउटा प्रक्रियाको शुरुवात भइसकेपछि बिस्तारै सबै काम हुँदै जान्छ, शिक्षा मन्त्रालय यसमा लाग्नेछ । यो सेवालाई निरन्तरता दिनुपर्ने, नियमित गर्नुपर्ने आवश्यकता छ ।’

यससँगै अब एनओसी ल्याउन सानोठिमी जानुपर्ने छैन्, लामो लाइन लाग्नुपर्ने छैन् । घरमै बसेर एनओसी डाउनलोड गर्न सकिने छ ।

एनओसी डाउनलोड गर्न सुरूमा निवेदकले एनओसीका लागि अनलाइनबाटै आवेदन दिनुपर्नेछ । उक्त निवेदन स्वीकृत भएपछि तोकिएको शुल्क बैंक वा अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

शुल्क भुक्तानी भएपछि निवेदकले क्युआर कोडसहितको एनओसी डाउनलोड गरेर प्रिन्ट गर्न सक्ने जनाइएको छ ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्त्री निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था छ ।