कीवर्डहरू -

बडिगाडको विकट गाउँमा मोबाईल सेवाले दिएको खुसी

बडिगाडको विकट गाउँमा मोबाईल सेवाले दिएको खुसी

चारैतिर अग्ला पहाड अनि खोंचमा रहेको ६ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदि छेउमा रहेको उक्त बस्तीमा यसअघि मोवाईल सेवा नहुँदा त्यहाँका नागरिकलाई समस्या हुँदै आएको थियो ।

गाउँ देखि माथि भित्रेनी डाँडामा नेपाल टेलिकमले टावर निर्माण गरि नमस्ते मोवाईल सेवा सुचारु गरेपछि अहिले स्थानियबासी खुसी भएका छन ।

मोवाईल सेवा सञ्चालन भएपछि बडिगाड गाउँपालिका वडा नं ७ भिमगिठेको टुनीबोट सँगै अमिले, जैबाने, भित्रेनी, छेपारे, ओखरेनी, पदमभीर र वडा नं ८ को दोभान सिमा क्षेत्रका झण्डै २ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन ।

सदरमुकाम बागलुङ बजार देखि ८२ किलोमिटर पश्चिम उत्तरमा अवस्थित उक्त गाउँमा यस अघि कुनै पनि मोवाईल सेवा उपलब्ध थिएन ।

मोबाईल सेवा नहुँदा सुचना र सञ्चारमा त्यहाँका नागरिकले सास्ती खेप्दै आईरहेको बडिगाड गाउँपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष कृष्ण गुरुङले बताए ।

स्थानिय लघु जलविद्युतबाट टावर सञ्चालन भएपछि अहिले जिएसएम मोवाईल सेवा टुजी र तेस्रो पुस्ताको मोवाईल सेवा थ्रिजी एकैसाथ सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

सेवा सुचारु भए सँगै मोवाईल प्रयोगकर्ताले भ्वाईस र डाटा चलाउन पाएको कार्यालय प्रमुख शर्माको भनाई छ । निकट भविष्यमा उक्त टावर मार्फत चौंथो पुस्ताको मोवाईल फोरजी सेवा उपलब्ध गराईने शर्माले बताए ।

पहिले फोन गर्न छिमेकी गाउँ र भिमगिठे बजार नै पुग्नु पर्ने त्यहाँका स्थानियको बाध्यताको अन्त्य भएको स्थानिय बिमल पाईजाले जानकारी दिए । टावर निर्माण, उपकरण टावर सम्म पुर्याउन स्थानियले सहयोग गरेका थिए ।

टुनिबोटमा मोवाईल सेवा सञ्चालन गर्न गाउँपालिकाले आवश्यक समन्वय र सहजीकरण गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले बताए ।

गाउँपालिका अध्यक्ष थापाले मोवाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम टुनिबोट र आसपासका नागरिकको दैनिकी सहज बनेको बताए । उनले गाउँपालिकाका सबै वडामा गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउन टेलिकम सँग आवश्यक समन्वय गरिने समेत उल्लेख गरे ।

पहिलो पटक मोवाईलमा कुराकानी गर्दै इन्टरनेट चलाउन  पाउँदा वडाबासी नागरिकहरु खुसी भएको बडिगाड गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र प्रताप केसीले बताए ।

नेपाल टेलिकमले बडिगाड गाउँपालिका वडा नं ९ दर्लिङ नयाँ गाउँमा रहेको टावरबाट रेडियो लिङ्कमार्फत त्यहाँ टुजी र थ्रिजी सेवा सञ्चालन गरेको जनाएको छ ।