कीवर्डहरू -

इन्टरनेट बन्द गर्ने चेतावनी दिदै समितिले भन्यो, ‘चर्को शुल्क तिर्दैनौं’ 

इन्टरनेट बन्द गर्ने चेतावनी दिदै समितिले भन्यो, ‘चर्को शुल्क तिर्दैनौं’ 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट र टेलिभिजन सेवा प्रदायकसँग चर्को शुल्क उठाएपछि आन्दोलित सेवा प्रदायकले इन्टरनेट र टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

आज ललितपुरमा गरिएकाे पत्रकार सम्मेलनमा प्राधिकरणले वृद्धि गरेको महसुल आफूहरुले तिर्न नसक्ने अडान आफूहरुले लिएकाे इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिले  बतायाे । 

प्राधिकरणले २०७५ साउन १ देखि पोलमा तार टाङ्ने र अप्टिकल फाइबर बिछ्याएको भाडा दर ५०० प्रतिशतले वृद्धि गरेको थियो । 

यदि इन्टरनेट र टेलिभिजन सेवा बन्द भयो भने यसको जिम्मा सरकारले नै लिनुपर्ने उनीहरुले बताएका छन् । 

‘इन्टरनेटमा ब्ल्याक आउट भयो भने यसको सबै सबै जिम्मा सरकारले लिनुपर्छु,’ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले, ‘तार काट्दा सम्पुर्ण इन्टरनेट सेवा तथा टिभी बन्द हुनेछन्, त्यसले बैंकिङ लगायतका विभिन्न क्षेत्रमा असर पर्छ।’

आफ्नो संरचना प्रयोग गरे बापतको भाडा नतिरेको बताउँदै नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट र केबल टेलिभिजनको सेवा दिइरहेका कम्पनीहरूको तार काट्ने तयारी गरेको छ । प्राधिकरणले गत असारमा वृद्धि गरेको भाडा बढी भएकाले नतिर्ने अडानमा ती कम्पनी छन् ।

‘तिर्नै नसक्नेगरी भाडा तोकिएपछि हामी पछाडि हटेका हौं,’ नेपाल केबल एशोसिएशन तथा सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधीर पराजुली भन्छन्, ‘सरकारले इन्टरनेटमा १३ प्रतिशत भ्याट लगायो, त्यसलाई समायोजन गर्यौं । फेरि पोलको भाडा बढाएर हामीले कसरी सेवा दिने ?’