कीवर्डहरू -

आइसिटी स्टार्टअप मेला सुरु, मुख्यमन्त्री राई भन्छन् - ‘प्रदेश १ लाई डिजिटल प्रदेश बनाउँदै छौं’

आइसिटी स्टार्टअप मेला सुरु, मुख्यमन्त्री राई भन्छन् - ‘प्रदेश १ लाई डिजिटल प्रदेश बनाउँदै छौं’

विराटनगर । शुक्रबारदेखि विराटनगरस्थित होटल स्टर्न स्टारमा 'फ्युज मेशिन्स नेपाल आइसिटी स्टार्टअप एण्ड इनोभेसन २०१९ इन एशाेसिएसन विथ ब्राेडवे इन्फाेसिस' मेलाको सुरुवात भएको छ ।

मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको कार्यक्रममा ४० भन्दा बढि स्टलहरुमा विभिन्न स्टार्टअप, कम्पनी र विद्यार्थीका प्रोजेक्टहरु पदर्शनमा रहेका छन् ।

कार्यक्रमको उदघाटन मुख्यमन्त्रीले रोबोट सेन्सर प्रविधि मार्फत गरे ।

ड्रोन नेपालले निमार्ण गरेको प्रविधिमा मुख्य मन्त्रीले मोवाइलमा एप्लिकेशन अन गरेर पानसमा बत्ती बालेका थिए । यस प्रकारको नयाँ प्रविधि मार्फत कार्यक्रम उदघाटन गरिएको यो नै पहिलो उदाहरण रहेको अतिथिहरुले बताए ।

यसैगरी कार्यक्रममा मुख्यमन्त्री र पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले रोबोटबाट फुटवल गेम खेलेका थिए । पिसिआरटीले रोबोट प्रतिस्प्रधासँगै अन्य नयाँ प्रविधिहरु प्रदर्शनमा राखेको छ । यसैगरी इस्टर्न कलेज अफ इन्जिनियरिङमा अनलाइन भोटिङ मेसिन र केहि रोबोटहरुको प्रदर्शन गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले यहि बैशाख २७ र २८ गते  याे मेलाकाे आयोजना गरिरहेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले अबको समयमा प्रविधिलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । प्रदेश १ लाई प्रविधि क्षेत्रमा अगाडी बढाएर उत्कृष्ट प्रदेशको रुपमा विकास गर्न विभिन्न योजनाहरु बनाइरहेको जानकारी दिए ।

उनले अबको सरकारी सेवालाई डिजिटल गर्भनेन्सको रुपमा अघि बढाउन लागिएको मुख्यमन्त्रीले बताए ।

स्टार्टअप, इनोभेसन र उद्यमशीलतालाई प्रोत्साहन गरौ भन्ने नारासहित आयोजना भइरहेको कार्यक्रममा बिराटनगरबाहेक काठमाण्डौ, झापा र सुनसरी क्षेत्रका आइटी कम्पनी तथा कलेजहरुको सहभागिता रहेको छ ।

प्रदर्शनीमा ५ सयभन्दा बढि दुरीसम्म वाइफाई प्रदान गर्ने ओर्बी लगायत एउटा पिसी मार्फत ४० कम्प्युटरमा कनेक्ट गरेर कम्प्युटर चलाउन मिल्ने प्रविधिहरु राखिएको छ ।

यसैगरी विलिङ, सेल्स, एकाउन्टिङ, एजुकेशन र अनलाइन स्टोरका सफ्टवेयरहरु समेत प्रदर्शनम रहेका छन ।

कार्यक्रमको दोश्रो दिन अर्थात शनिवार आइसिटी कन्फ्रेन्सको आयोजना हुनेछ । कन्फ्रेन्सको पहिलो सेसनमा स्थानिय स्तरमा उद्यमशिलता तथा स्टार्टअपका समस्या, चुनौती र अवसरहरुका बारेमा छलफल र प्यानल डिस्कसन हुनेछ भने दोश्रो सेसन नयाँ प्रविधि र ट्रेन्ड्सका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम संयोजक राजन लम्सालले बताए ।

सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी, आइओटी र उद्यमशिलताका विषयमा काठमाण्डौबाट आउने विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन ।

कन्फ्रेन्समा सहभागी हुनको लागि रु १ हजार रुपैया तिर्नुपर्ने तर प्रदर्शनी हेर्नको लागि सबैलाई निशुल्क प्रवेश गराइएको छ ।

स्टार्टअप मेला शनिवारसम्म सञ्चालन हुने छ ।