नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले तेह्रौ वार्षिक साधारण सभा पुस २८ गते काठमाडौंमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यस पश्चात एनसीएचएलको चुत्ता पुँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० रूपैयाँ बराबरको हनेछ साथै बैठकले अधिकृत पूँजी वृद्धि गरी २ अर्ब २५ करोड रूपैयाँ पुर्याउन स्वीकृत गरेको छ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।
आर्थिक वर्ष २०८०÷८१ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५४ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्धि भएको छ । उक्त आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १५६ खर्ब बराबरको १२.६ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो ।
बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरु निर्विरोध रुपमा पुनः निर्वाचित गरेको छ । वाणिज्य बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंकका उप–प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि सृजन कृष्ण मल्ल पुनः निर्वाचित भएका छन् ।
एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।