कीवर्डहरू -

मार्क जुकरबर्ग भन्छन्ः एप्पलको भिजन प्रो चाहिनेभन्दा धेरै महंगो भयो

मार्क जुकरबर्ग भन्छन्ः एप्पलको भिजन प्रो चाहिनेभन्दा धेरै महंगो भयो

एप्पलले सोमबार वर्ल्ड वाइड डेभलपर कन्फेरेन्स (डब्लुडब्लुडीसी) २०२३ मा आफ्नो बहुप्रतीक्षित अगमेन्टेड रियालिटी (एआर) हेडसेट भिजन प्रो सार्वजनिक गर्‍यो । भिजन प्रो सार्वजनिक भएपनि अहिले अनेक खालका प्रतिक्रिया आइरहेका छन् ।

यसैबीच फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । द भर्जको रिपोर्ट अनुसार जुकरबर्गले भिजन प्रो बारे आफ्ना कर्मचारीसँग छलफल गरेका छन् । भिजन प्रो मेटाको क्वेस्टभन्दा सात गुणा बढी महँगो भएको उनको भनाइ छ ।

जुकरबर्गले भनेका छन्, ‘यो कम्प्युटिङ भविष्यको लागि राम्रो उपकरण हुन सक्छ । तर यो सोचेको जस्तो उपकरण होइन् ।’

एप्पलको भिजन प्रोमा कुनै जादुमय समाधान नभएको जुकरबर्गले बताएका छन् । उनका अनुसार एप्पल र मेटाको हेडसेटमा फरक भनेको भिजन प्रोमा हाई रिजोलुसनको डिस्प्ले प्रयोग गरिएको छ ।

'यसबाहेक एप्पलले प्रयोग गरेको ब्याट्रीले धेरै नै ऊर्जा खपत गर्ने गरेको पाउन सकिन्छ र पावर प्रणालीको मूल्य पनि हाम्रो हेडसेट भन्दा सात गुणा बढि हुन जान्छ,' जुकरबर्गले भनेका छन्, 'भिजन प्रोको उच्च ऊर्जा खपतले यसमा हरसमय प्रयोग गर्दा तार र ब्याट्री जोडिएको हुनुपर्छ । यस हेडसेटबाट हामीले पनि क्वेस्ट हेडसेटमा सुधार गर्ने धेरै पाटोहरु पाउन सक्छौँ ।'

एप्पलको भिजन प्रो आँखाको चाल र हात इशाराहरू नियन्त्रण हुन्छ । साथै यसमा पारदर्शी डिस्प्ले र हल्का डिजाइन समेत रहेको छ ।

भिजन प्रो ३५०० अमेरिकी डलरबाट सुरू हुन्छ । जबकि मेटा क्वेस्ट प्रो मेटाको सबैभन्दा महँगो हेडसेट, एक हजार डलरबाट सुरु हुन्छ । यस कारण नै जुकरबर्गले एप्पलको प्रडक्ट चाहिनेभन्दा धेरै महंगो भएको प्रतिक्रिया दिएका हुन् ।

जुकरबर्गले एप्पल भिजन प्रो उपकरणको मूल्य निर्धारणमा प्रतिक्रिया दिँदै मेटाको आगामी क्वेस्ट ३ हेडसेटको मूल्य भिजन प्रोको ३४९९ डलरको तुलनामा मात्र ४९९ डलर हुने बताएका छन् ।

क्वेस्ट थ्री कम मूल्यको कारण ठूलो संख्यामा प्रयोगकर्ताहरूले यो उपकरण प्रयोग गर्न पाउने छन् । तर पनि एप्पलको घोषणाले एआर भिआर बजारमा मेटाका लागि चुनौतीहरू थपिने देखिएको छ ।