कीवर्डहरू -

सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख भइसकेको छः सञ्चारमन्त्री शर्मा

सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख भइसकेको छः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मोवाईल डिभाईस म्यानेजमेण्ट सिष्टम (एम्डिएम्एस्) कार्यान्वयनमा सरकार कडाईका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोवाईल व्यवसायीहरुलाई आग्रह गरेकी छन् ।

मन्त्री शर्माले कर छली हुन नदिन ल्याइएको प्रणाली कार्यान्वयनमा सहयोग गर्ने व्यवसायीका हितमा सरकार सहयोग गर्न सँधै तत्पर रहेको बताइन्।

नेपाल मोबाईल व्यवसायी महासंघको दोस्रो साधारणसभालाई ललितपुरमा सम्बोधन गर्दै मन्त्री शर्माले भनिन्, ‘मोबाईल मनोरञ्जनको साधन नभई अत्यावश्यकीय साधन बनिसकेको छ । २०६३ पछि बनेको सरकारका सञ्चारमन्त्री कृष्णबहादुर महरा हुँदा ल्याइएको हातहातमा मोबाईल, घरघरमा इन्टरनेट अभियानलाई मूर्त रुप दिंदै वर्तमान सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख भइसकेको छ ।’

मन्त्री शर्माले मोबाईल आयातलाई भन्दा बिग्रेका मोवाईललाई पुनः प्रयोग गर्न सक्ने खालको उद्योग मुलुकभित्रै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिन् ।

उनले त्यस्ता उद्योग सुरु भए रोजगारी बढ्ने र स्वदेशी मुद्रा बाहिरिन न्यूनिकरण हुने भएकाले ति व्यवसायीलाई राज्यले उचित नीतिगत सहयोग गर्न कुल बजेटको १ प्रतिशत रकम लगानी गर्ने सरकारको नीति रहेको बताएकी थिइन् ।

नेपाल मोबाईल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष भरत भट्टराईले बर्षेनी ४० अर्ब बढी राजश्व उठाउने र ५० हजारभन्दा बढी रोजगार प्रदान गरिरहेका मोबाईल व्यवसायीहरु यतिबेला संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए ।

मोबाईल बिक्रीमा अत्यन्तै कम मार्जिन रहेको, अनलाईन तथा अफ्लाईनका नाममा अव्यवसायिक प्रतिस्पर्धा बढेको, मोवाईललाई विलाशिताको वस्तुका रुपमा हेरिएका कारण आयातमा कडाई भइरहेको अवस्थाले व्यसायी संकटमा पुगेको अध्यक्ष भट्टराईको तर्क छ ।

अध्यक्ष भट्टराईले राज्यलाई कर तिरेको अनुपातका आधारमा पेशागत तथा सामाजिक सुरक्षाकाको ग्यारेण्टी गरिदिन सरकारसँग माग गरे । उनले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न सरकारलाई सहजीकरण गर्ने समेत बताए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले विभाग र महासंघको सहकार्यमा व्यवसायीहरुलाई करसम्बन्धी विषयमा सचेतना जगाउँदै अनावश्यक झण्झटबाट मुक्ति दिने प्रतिबद्धता जनाए ।

ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले समाज रुपान्तरणमा मोवाईलले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि त्यही व्यवसायबाट बाँच्ने व्यवसायीहरु समस्याग्रस्त रहेको सुन्दा दुःख लागेको बताए ।

मोबाईल व्यवसायी महासंघका महासचिव रमेश कुमार घिमिरे र कोषाध्यक्ष सन्तोष घिमिरेले महासंघको गत आर्थिक बर्षको सांगठनिक तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।

कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, विभिन्न मोबाईल आयातकर्ता कम्पनीका प्रमुखका साथै मुलुकभरका मोबाईल व्यवसायीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।