बैंकको कर्मचारी भन्दै ओटीपी कोड मागेर ठगी गर्नेबाट सचेत रहन बैंकहरूले आग्रह गरेका छन् । एक सूचना जारी गर्दै बैंकहरूले बैंकको कर्मचारी भनेर विभिन्न बहानामा ओटीपी कोड मागेर ठगी भइरहेकाले सावधान हुन आग्रह गरेका हुन् ।
पछिल्लो केही समयता अनाधिकृत व्यक्तिहरूले बैंकको कर्मचारी भएको र केवाईसी अपडेट गर्ने लगायत विभिन्न बहाना बनाउदै वा प्रलोभन देखाई सोको लागि सम्बन्धित ग्राहकलाई मोबाईलमा आएको नम्बर (OTP) मागी ठगी गर्ने गरिएको पाइएको छ ।
ठगी गर्ने गरिएको पाइएपछि विभिन्न बैंकहरूले सूचना निकाल्दै बैंकहरूले ओटीपी कोड कसैलाई नदिन सचेत गराएका छन् ।
खाताको विवरण, कार्ड नम्बर, PIN, मोबाईलमा तथा ईमेलमा आउने OTP जस्ता संवेदनशील सूचनाहरु कसैलाई पनि नदिन बैंकहरूले ग्राहकसँग अनुरोध गरेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को जेठ २० गतेसम्म ओटीपी कोड प्रयोग गरेर ठगीमा परेको भन्दै १०६ जनाले निवेदन दिएका छन् ।