कीवर्डहरू -

दमक नगरपालिकालाई स्टार्टअप र प्रविधिमैत्री शहर बनाइने

दमक नगरपालिकालाई स्टार्टअप र प्रविधिमैत्री शहर बनाइने

दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री शहर बनाइने भएको छ । असार १ गते श्रीयोग डटकम र दमक नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजना गरिएको डिजिटल रोजगारीका लागि डिजिटल साक्षरता कार्यक्रम यस्तो बताइएको हो ।

असार १ गते दमक नगरपालिकाको सभाहलमा साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । दमक नगरपालिका सूचना प्रविधि प्रमुख समीप चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस कार्यक्रममा १०० बढी सहभागी भएका थिए ।

डिजिटल प्रविधिको उपयोग गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने उद्देश्यले संचालित श्रीयोग डटकम र नगरपालिकाको सहकार्यमा नगर क्षेत्रभित्र रहेका, सीप भएका बेरोजगार युवाहरुको डिजिटल प्रोफाइलिंग गर्दै दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री शहर बनाउने उद्धेश्य अनुरूप पहिलो चरणमा एकदिने डिजिटल रोजगारीका डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिएको श्रीयोग डटकमका सञ्चालक प्रकाश उप्रेतीले बताए ।

'प्रविधिमैत्री रोजगारी र उद्यमशीलताका लागि डिजिटल साक्षरता' कक्षा सञ्चालन गरेका श्रीयोग डटकमका बिजनेस कन्सल्टेन्ट नवीन भट्टराईले प्रविधिको प्रयोग गर्दै रोजगार, स्वरोजगार वा उद्यमी बन्नका लागि विभिन्न प्रक्रियाहरुको बारेमा छोटकरीमा जानकारी दिएका थिए ।

यस्तै किसिमको एक हप्ते कार्यक्रममा धेरै व्यावहारिक कुराहरू सिकाउन सकिने उनको भनाइ छ । श्रीयोग डटकमका प्रोजेक्ट मेनेजर एसएन मेहता र ईशा सुनामले सहजीकरण गरेको कार्यक्रममा स्थानीय सूचना प्रविधि व्यवसायी शोभित मान श्रेष्ठ तथा शैलेश दाहालको पनि उपस्थिति रहेको थियो ।