कीवर्डहरू -

नक्कली च्याटजीपी निर्माण गरेर स्क्याम गर्नेहरू बढ्दै, यसरी हुनुहोस् सुरक्षित

नक्कली च्याटजीपी निर्माण गरेर स्क्याम गर्नेहरू बढ्दै, यसरी हुनुहोस् सुरक्षित

नोभेम्बर ३०, २०२२ मा च्याटजीपीटी सार्वजनिक भयो । सार्वजनिक भएपछि यसको लोकप्रियता बढिरहेको छ ।

च्याटजीपीटीको लोकप्रियता देखेर धेरै आईटी कम्पनीहरूले यसमा चासो देखाएका छन् । यही लोकप्रियताको फाइदा स्क्यामरहरूले पनि उठाउन थालेका छन् ।

स्क्यामरहरूले नक्कली च्याटजीपीटी एआई च्याटबटहरू रोल आउट गरेर प्रयोगकर्ताहरूको फाइदा लिन खोजिरहेका छन् । वास्तविक च्याटजीपीटी हो भन्ने ठानेर धेरै प्रयोगकर्ताहरूले नक्कली च्याटजीपीटीनै प्रयोग गरिरहेका छन् ।

एक अनुसन्धानकर्ताका अनुसार ओपनएआईको जीपीटी–३.५ र पछि जीपीटी–४ लन्च भएपछि मालवेयर भेरियन्टहरूको नयाँ लहर देखा परेको छ । यो नक्कली एप च्याटजीपीटी टूल प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई लक्षित गरेर डिजाइन गरिएको छ ।

अनुसन्धानकर्ताहरुद्वारा थप अनुसन्धानमा, सक्रिय मालवेयरको दुई फरक प्रकार पहिचान गरिएको छ । पहिलो च्याटजीपीटी नक्कली एपको नाम “सुपर जीपीटी“ एप हो तर वास्तवमा यो मिटरप्रेटर ट्रोजन हो । यो जीपीटी फोर संचालित एआइ सहायक हो जसले इमेल लेख्ने, प्रश्नहरूको जवाफ दिने र लेख लेख्ने जस्ता कार्यहरू गर्ने गर्दछ । यस बाहेक यसले भाषण र भाषा अनुवादकको रूपमा पनि काम गर्दछ ।

अर्को संस्करण “च्याटजीपीटी“ एप जस्तोमात्रै देखिने गर्छ, तर यस एपले थाईल्याण्डमा अवस्थित प्रिमियम नम्बरहरूमा मेसेज पठाइरहेको पाइएको छ । यस एपको फरक संस्करणले ह्याकरहरूलाई एन्ड्रोइड टूलहरू रिमोट रुपमानै प्रयोग गर्न दिन्छ ।

यसबाहेक, यी सबै एपीके फाइलहरूमा ओपन एआइकै लोगो हुने गर्दछ, जसले गर्दा साधारण रुपमा प्रयोगकर्ताहरुले सक्कली च्याटजीपीटीनै भएको बुझ्ने गर्दछन् ।

च्याटजीपीटीजस्तै देखिने एपिके मालवेयर एपहरू धेरै खतरनाक रहेको अन्वेषकहरुले चेतावनी दिएका छन् । यी एपको मद्दतले तपाईको मोबाइल डिभाइसको डाटा लीक हुनसक्छ र तपाईको गोपनीयतामा पनि समस्या आउन सकछ ।

वास्तविक एपजस्तै देखिने यी नक्कली एपहरूले तपाईंको फोनको डाटा पहुँच गर्छन् र त्यसपछि बैंक विवरणहरू चोरेर तपाईंलाई ठगीको शिकार बनाउन सक्छन् ।

च्याटजीपीटी प्रयोगकर्ताहरूले ध्यान दिनुपर्ने कुरा :

यस्तो मालवेयरबाट आफूलाई बचाउन आफ्नो स्मार्टफोनमा एन्टिभाइरस सफ्टवेयर इन्स्टल गर्नुहोस् ।

तेस्रो–पक्ष एपहरू डाउनलोड गर्दा सावधान रहनुहोस् ।

सधैं विश्वसनीय स्रोतहरूबाट मात्र एपहरू डाउनलोड गर्नुहोस् ।

डाउनलोड गर्नु अघि सधैं एप विकासकर्ताको नाम जाँच गर्नुहोस् ।

नयाँ सुरक्षा प्याचहरू उपलब्ध हुँदा आफ्नो फोन अपडेट गरिरहनुहोस् ।