कीवर्डहरू -

अघि बढ्यो नास्टको उपकुलपति नियुक्ति प्रक्रिया

अघि बढ्यो नास्टको उपकुलपति नियुक्ति प्रक्रिया

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढेको छ । करिब ६ महिनादेखि रिक्त रहेको नास्टको उपकुलपति नियुक्ति प्रक्रियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अगाडि बढाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन, २०४८ को दफा १९ को उपदफा (१क) बमोजिम उपकुलपति सिफारिसका लागि आवेदन खुलाएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐनमा विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरुमध्येबाट उपकुलपति सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले इच्छुकलाई आवेदन दिन मन्त्रालयले आह्वान गरेको छ ।

उपकुलपति पदका लागि विज्ञान तथा प्रविधिको क्षेत्रमा आफूले पुर्याएको योगदान, विज्ञान तथा प्रविधिको क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो कार्य योजना र वैयक्तिक विवरण (बायो डाटा) समेत समावेश गरी लिखित रुपमा असार १० गतेसम्म (सात दिनभित्र) कार्यालय समयभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आवेदन दिन आह्वान गरिएको छ ।

गत पुसमा डा. सुनिल बाबु श्रेष्ठ आफ्नो ४ वर्षे उपकुलपतिको कार्यकाल पुरा गर्दै नास्टको उपकुलपतिबाट विदा भएका थिए । त्यसपछि नास्ट उपकुलपति बिहिन छ ।

विज्ञान र प्रविधिको खोज अनुसन्धान गर्नुपर्ने संस्था लामो समयदेखि उपकुलपति नियुक्त नहुँदा दैनिक कामहरू प्रभावित भइरहेका छन् ।

\"\"