कीवर्डहरू -

इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाट पैसा झिक्न सक्ने, यस्तो छ तरिका 

इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाट पैसा झिक्न सक्ने, यस्तो छ तरिका 

इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाटै पैसा झिक्न सक्ने भएका छन् । नेपालमै पहिलो पटक डिजिटल वालेटबाट एटीएम विथड्र गर्न सकिने सुविधा सार्वजनिक भएको हो ।

यस सेवाका लागि बुधबार इसेवाका सीईओ जगदिश खड्का र एभरेष्ट बैंकका नायव सीईओ विजय कुमार शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

योसँगै अब एटीएमबाट पैसा झिक्न एभरेष्ट बैंकको भिसा कार्ड बोक्नु पर्ने झन्झट पनि अन्त्य भएको छ । यो सेवाले इसेवा र एभरेष्ट बैंकका ग्राहकलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।

ईसेवाका सीईओ जगदिश खड्काले प्रयोगकर्ताको सहजता र वित्तीय समावेशिताका लागि एटीएम विथड्र सेवा ल्याएको बताए ।

‘इसेवाले क्यासलेस अर्थतन्त्र बनाउने योजना अनुसार अगाडि बढेको छ । तर अझै पनि ठूलो क्षेत्र क्यासलेस हुन बाँकी छ,’ उनले भने, ‘यस्तो अवस्थामा प्रयोगकर्तालाई डिजिटल प्रविधिको नजिक लैजाने यो सुविधा ल्याएका हौं । यसले बैंक खाता नहुने ग्राहक र डिजिटल कारोबार नहुने ठाउँमा सहयोग गर्नेछ । ’

यस्तै एभरेष्ट बैंकका नायव सीईओ विजय कुमार शर्माले सुरूवाती चरणमा ईसेवाबाट एटीएम विथड्र गर्दा शुल्क नलागे पनि केही समयपछि राष्ट्र बैंकले तोकेको शुल्क लाग्ने जानकारी दिए ।

अहिलेलाई ईसेवाको एटीएम विथड्र सेवामा एभरेष्ट बैंक मात्रै आवद्ध भएको छ । विस्तारै अरूलाई बैंकलाई पनि आवद्ध गर्दै लैजाने योजना छ । सार्वजनिक भएको अवसरमा सुरूवाती समयमा इसेवाबाट एभरेष्ट बैंकको एटीएम सेवामार्फत पेसा झिक्दा शुल्क लाग्ने छैन् । तर त्यसपछि राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार शुल्क लाग्ने छ ।

राष्ट्र बैंकको नियम अनुसार प्रतिदिन ५ हजार र मासिक २५ हजार रूपैयाँसम्म एटीएमबाट पैसा निकाल्न सकिन्छ ।

कसरी गर्ने प्रयोग ?

यो सेवा प्रयोग गर्न सुरूमा इसेवा एपलाई अपडेट गर्नुहोस् वा डाउनलोड गर्नुहोस् । त्यसपछि त्यहाँ एटीएम विथड्र भन्ने विकल्प देख्न सक्नुहुनेछ । अनि बैंक छनौट गर्नुहोस् र अगाडि बढ्नुहोस् ।

यति गरेपछि विथड्र अमाउन्टमा एटीएमबाट कति पैसा निकाल्नु पर्ने त्यो रकम त्यहाँ राखेर निकाल्नुको उद्देश्य र र रिमार्क्स राखेर प्रोसिडमा क्लिक गर्नुहोस् ।

यसपछि आफ्नो एमपिन वा फिंगरप्रिन्ट राख्नुहोस् । अनि तपाईको म्यासेजमा एउटा ओटीपी कोड आउँछ । त्यो ओटीपी बैंकको एटीएम बुथमा गएर राख्नुपर्ने हुन्छ ।

यसका लागि सुरूमा एटीएमको बुथको स्क्रिनमा रहेको क्यासलेस विथड्रमा जानुहोस् । त्यसपछि भाषा छनौट गर्नुहोस् । यति गरेपछि त्यहाँ देखिएको ईसेवामा क्लिक गर्नुहोस् र आफ्नो इसेवा आईडि राख्नुहोस् ।

इसेवा आईडि राखिसकेपछि अघि म्यासेजमा आएको ओटीपी कोड र कति पैसा निकाल्नु पर्ने त्यो राख्नुहोस् । याद गर्नुस् इसेवा एपबाट एटीएम विथड्र गर्दा राखेको पैसा र एटीएमा राखेको पैसाको राशि एउटै हुनुपर्नेछ । यति गरेपछि तपाईको पैसा निस्कन्छ ।