कीवर्डहरू -

दूरसञ्चार पूर्वाधारको सहप्रयोगमा सरोकारवालाहरूको जोड

दूरसञ्चार पूर्वाधारको सहप्रयोगमा सरोकारवालाहरूको जोड

दूरसञ्चार पूर्वाधारको सहप्रयोगमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबारदेखि सुरू भएको २ दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभमा बोल्दै वक्ताहरूको यस्तो बताएका हुन् ।

डिजिटल सक्षमताका लागि डिजिटल पूर्वाधार सहयोग विषयमा भएको प्यानल सेसनमा इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले दूरसञ्चार पूर्वाधार सहप्रयोग आवश्यक भएपनि नेपालमा भने आफ्नो सामान अरूलाई किन प्रयोग गर्न दिन भन्ने मानसिकता अझै कायम रहेको बताए ।

यस्तै डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले पर्याप्त योजनाबिना काम गर्दा पूर्वाधारमा समस्या देखिएको बताए ।

यता, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रायले दूरसञ्चार सेवा सस्तो हुनका लागि पूर्वाधार सहप्रयोग जरूरी रहेको र त्यसैअनुसार प्राधिकरणले सह-प्रयोगमा सहजीकरण गरिरहेको बताए ।

‘नेपालमा कनेक्टिभिटीको आधारभूत फाउन्डेसन तयार भइसकेको छ । अब सेवा प्रदायक र नियामकले डिजिटल इकोसिस्टममा काम गर्नुपर्छ,’ उनले भने, ‘दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि कानुनमा अझै अस्पष्ता रहेको छ ।’

त्यसैगरी नेपाल टेलिकमकी प्रमुख व्यापार अधिकृत संगिता पहाडीले सकेसम्म आफ्ना पूर्वाधार सह-प्रयोग गरिरहेको बताइन् ।

नेपाल विद्युत प्राधिकरणका निर्देशक तारा प्रधानले सुरूवाती समयमा बिजनेसको हिसाबले अप्टिकल फाइबर सुरू नगरेको बताए ।

विद्युत प्राधिकरणले तारहरू अन्डरग्राउण्ड गर्न सुरू गरेको छ । अन्डरग्राउन्ड गर्दा कतिपय कोरहरू खाली राखेर डक्ट गरिरहेको छ । उक्त डक्टमा अन्य सेवाप्रदायकको केबल राख्न दिन आफुहरू सकारात्मक रहेको बताए ।