कीवर्डहरू -

काठमाडौं महानगरको बजेटः सबै सेवा अनलाइनबाटै दिने, आफ्नै ई-कमर्स पोर्टल ल्याउने 

काठमाडौं महानगरको बजेटः सबै सेवा अनलाइनबाटै दिने, आफ्नै ई-कमर्स पोर्टल ल्याउने 

काठमाडौं महानगरपालिकाले महानगरबाट प्रदान गरिने सबै सेवाहरुलाई अनलाइन प्रणालीबाटै उपलब्ध गराउन १५ करोड रकम छुट्याएको छ ।

आईतबार आगामी आर्थिक वर्ष २०८०-८१ का लागि उपमेयर सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा सबै सेवा अनलाइनबाटै दिने, आफ्नै टेलिभिजन स्थापना गर्ने, जबलिंक एप, ई-कमर्स सञ्चालनमा ल्याउने लगायतका योजना समेटिएका छन् ।

महानगरबाट प्रदान गरिने सबै सेवाहरुलाई अनलाइन प्रणालीमार्फत गर्ने गराउने कार्यलाई महानगरको गौरवको योजनाको रुपमा आत्मसातगरी ‘सुशासनको लागि अनलाइन सेवा’ योजना अन्तर्गतका विभिन्न कार्यक्रम संचालन गर्न १५ करोड रूपैयाँ विनियोजना भएको छ ।

महानगरका मुख्य सडक, चोक एवं गल्ली समेतमा सर्भिलेन्स क्यामेरा जडान गरी महानगरवासीलाई सुरक्षित परिवेशमा बस्न योग्य शहर बनाउने उद्देश्यले ‘महानगरले देख्छ’ योजनाको लागि रु. २० करोड रकम छुट्याइएको छ ।

यस्तै महानगर टेलिभिजन स्थापना गर्न ५ करोड रकम छुट्याइएको छ भने आउँदो आर्थिक वर्षमा सूचना प्रविधि सम्बन्धी सम्मेलन आयोजना गर्न आवश्यक रकमको प्रबन्ध गरिएको छ ।

भवन निर्माण इजाजत, सिफारिस तथा प्रमाणित र राजश्व संकलन कार्यलाई सूचना प्रविधिको प्रयोग गरी व्यवस्थित गर्न आवश्यक रकमको व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरले अब डिजिटल हाजिर प्रमाणित अभिलेखका आधारमा तोकिएको दरमा विद्यार्थीलाई खाजा उपलब्ध गराउने जनाएको छ ।

महानगरको सहयोगमा सञ्चालन एम्बुलेन्स हटलाइन सेवा १०२ सञ्चालन गर्न १ करोड ४४ लाख बजेटको व्यवस्था गरिएको डंगोलले बताइन् ।

महानगरले आफ्नै युटिलिटी डक्ट समेत निर्माण गर्ने भएको छ । ‘महानगर क्षेत्रभित्रका सडकहरूमा फाइबर तथा अन्य केबल विस्तारको लागि आफ्नो युटिलिटी डक्ट निर्माण गरी शेयर्ड इन्फ्रास्ट्रक्चरको अवधारणा अनुसार कार्य अगाडि बढाउन १० करोड रकम विनियोजन गरेको छु,’ डंगोलले भनिन् ।

उज्यालो शहर, मेरो महानगर योजना अन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने एवं महानगरका १०० वटा मुख्य चोक तथा क्षेत्रहरूमा हाई मास्टलाइटसहितको व्यवस्था गर्ने कार्यक्रमका लागि ३० करोड रकम छुट्याइएको छ ।

पर्यटकीय क्षेत्रहरुको रूट सजेसन सम्बन्धी एप निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ । महानगरभित्रका युवालाई श्रमबैंक स्वर्णिम योजनामा आवद्ध गराइ सीप तथा क्षमता विकासमार्फत रोजगारीको अवसर सिर्जना गर्न १० करोड बजेट व्यवस्था गरिएको छ ।

‘रोजगारी वृद्धिको लागि वेरोजगार र रोजगारदाता बिच जबलिंक एप प्रयोगमा ल्याउन आवश्यक बजेटको प्रबन्ध गरेको छ’, बजेटमा भनिएको छ ।

यस बाहेक महानगरले आफ्नै ई-कमर्स पोर्टल पनि सञ्चालनमा ल्याउने योजना अगाडि सारेको छ । बजेटमा उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई-कमर्स पोर्टल मार्फत मेट्रो मार्ट संचालनमा ल्याउन १ करोड रकम छुट्याइएको छ ।