कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेसामा आबद्ध छन्। पिपलाडीमा चौधरीको साढे चार बिघा जमिन छ।
उनले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाडेको पाँच वर्ष भइसक्यो खेत जोत्नका लागि उनी अचेल ‘पावर टिलर’को प्रयोग गर्छन्।
'अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छु, उनले भने, 'प्रविधिको प्रयोगले धेरै कृषकलाई धेरै सहजता थपेको छ ।'
वर्षौँदेखि उनले तरकारी, उखु, गहुँ तथा धानखेती गर्दै आएका छन्। कुरेरुवा कृषक समूहमा आबद्ध उनले सरकारी अनुदानमा कृषियन्त्र खरिद गरेका थिए।
उनीहरूसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्नका लागि हिलो चक्का, जोत्नलाई पावर टिलरलगायतका उपकरण छन् । 'धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न ती उपकरणको प्रयोग गर्छौँ', उनले भने, 'कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ।'
शुक्लाफाँटा-२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थालिकी छिन्। 'कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्', उनले भनिन, 'यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ।'
जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय कञ्चनपुरमा कृषि क्षेत्रमा यान्त्रिकीकरण प्रयोग बढ्दै गएको छ । प्रविधिको प्रयोगमा किसानको आकर्षण बढ्दो छ।
मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि कृषक आत्मनिर्भर हुन थालेका छन् ।
'पहिले-पहिले परम्परागत तरिकाले खेती गर्थ्यौ, त्यसले जनशक्ति र लागत बढी लागे पनि उत्पादन कम हुन्थ्यो, चौधरीले भनिन्, 'अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्दैछौँ, यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ।'
अर्घाखाँचीका किसानहरु ड्रोन प्रविधिको प्रयोग गरेर तरकारीमा मल हाल्ने र सिचाइ गर्दै आइरहेका छन् । उनीहरू ड्रोनबाटै तरकारीमा किटनाशक औषधि छर्ने गरेका छन् ।
अर्घाखाँचीका तरकारी किसान मधुकर पौडेल भन्छन्, ‘ अहिले त हामीले तरकारीमा किटनाशक औषधि ड्रोनबाटै छर्दै आएका छौं। यो प्रविधि भित्र्याएको ३ वर्ष भयो। धेरै सजिलो भएको छ। यसले राहत पनि दिएको छ।’
यस्तै बाँकेमा गहुँमा यरिया मल छर्न किसानहरुले ड्रोनको सहायता लिइरहेका छन्। उनीहरूले ड्रोनको मार्फतबाट खेतमा लगाइएको गहुँमा ड्रोनबाट विगत २ वर्षदेखि यूरिया मल छर्दै आइरहेका छन् । बाँकेका किसान बद्री नायारायण केसीले भने, ‘हामीले ड्रोनमार्फत गहुँमा युरिया मल छरेको २ वर्ष जति भयो। सबै खेतमा बराबरी युरिया जान्छ।यसले काम फत्ते गरिदिएको छ किसानको।’
यस्तै दाङ गढवा गाउँपालिकाले पालिकाभित्रका १५ जना किसानलाई १८ हर्स पावरको पावर टिलर वितरण गरेको छ ।
गढवा गाउँपालिका प्रमुख यम नारायण शर्मा पोख्रलले किसानको उत्पादन वृद्धि गर्ने, कृषि पेसालाई बढाउने, कृषक लाई जिवनयापन गर्न सजिलो होस्, जोतभोग गर्न सजिलो होस् भन्ने उद्देश्य कृषक समूह,सहकारी,तथा व्यक्तिगत फर्म गरेर १५ जना किसानलाई पावर टिलर हस्तान्तरण गरिएको जानकारी दिए।
आउदा दिनहरुमा पनि पालिका ले किसानहरुका समस्याहरुलाई मध्य नजर गर्दै कासानको हक हितका लागी सदैव काम गर्ने बताए ।
२०८०/८१ को बजेटमा पनि स्वीकृत कृषि कार्यक्रमको कृषि यान्त्रीकरण कार्यक्रम अन्तरर्गत छनौटमा परेका कृसक समूह, सहकारि संस्था, कृषि फर्म हरुलाइ ५० प्रतिशत अनुदानमा गढवा गाउँपालिकाले किसानलाइ १८ हर्स पावरको पावर टिलर वितरण गर्ने उनको भनाइ छ ।
पावर टिलर प्राप्त गरेको किसानलाइ ह्यान्डल हस्तान्तरण गर्दै पालिका उपाध्यक्षले कृषक लाई खेति गर्न सहज हुने र किसानहरु लाई छोटो समयमा धेरै खेती गर्न सक्ने, समयको बचत हुने कृषि प्रति आकर्षित हुनेमा उनको विश्वास छ।
कञ्चनपुरमा सरकारी तथा अन्य निकायका विभिन्न कार्यक्रमबाट नयाँ-नयाँ प्रविधि भित्रिएसँगै कृषिकर्ममा सहजता थपेको छ। गाउँमा काम गर्ने युवाहरू वैदेशिक रोजगारीका साथै अन्य क्षेत्रमा काम गर्न जाँदा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने गरेको छ।
जनशक्ति एकदमै महँगिदै गइरहेको अवस्थामा कृषि यान्त्रिकीकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ कृषकको आकर्षण बढेको चेतराज चौधरी बताउँछन्।
'विगतको जस्तो काम गर्ने जनशक्ति पनि छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज गरेको छु, उनले भने, 'अगाडि खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक-दुई सातामै सकिन्छ।' कञ्चनपुरको कृषि क्षेत्रमा यन्त्र उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए।
'कृषि कर्ममा प्रयोग हुने नयाँ-नयाँ यन्त्र, उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेको छु, उनले भने,'व्यक्तिगत किनेर वा अनुदानमा किसानको पहुँचमा प्रविधि पुगेको छ।' उनका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँको कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग भइरहेको छ।