सर्वप्रथम मलाई साथ दिई वर्डप्रेस कम्युनिटीमा भूमिका निर्वाह गर्नुभएका उज्ज्वल थापा, सकिन श्रेष्ठ र चन्द्र महर्जनलाई सम्झेर विचार पोख्दै छु । ७ वर्ष अघिसम्म नेपालमा वर्डप्रेसबारे कुरा गर्ने मानिस हातमा गन्न सकिन्थ्यो । विदेशमा पर्याप्त वर्डप्रेसको सफल अभ्यास भइरहेको थियो । हामी केहीले नेपालमा पनि सम्भावना देख्न थाल्यौं । वर्डप्रेसको त्यतिबेलासम्म यहाँ कुनै कम्युनिटी थिएन । एकाध कम्पनी थिए जो खुलेर वर्डप्रेसमा आधारित रही काम गर्थे । त्यस्तो अवस्थामा नेपालमा वर्डप्रेसको माहोल ल्याउन जरुरी छ र सकिन्छ भन्ने तर्क आउन थाले ।
पहिलो वर्डक्याम्प २०१२ मा सुरु गरेका हौं । स्वभावैले थोरै सहभागी आए । हामी पनि नयाँ नै थियौं । हामी राम्रो वर्डप्रेस मिटअप गरेर उदाहरण दिन चाहन्थ्यौं । आयोजनाका हिसाबले पनि फरक गर्ने प्रयास गर्यौं । समयको सम्मान गर्ने परम्परा बसाल्यौं । १० बजे सुरु गर्ने भनेपछि १० बजे नै सुरु गथ्र्यौं । एक मिनेट कुरेर बस्ने परम्परा भएन । वर्डक्याम्पमा विभिन्न सेसन सञ्चालन गर्ने र सहभागीले रमाउँदै सिक्ने वातावरण हामीले प्रदान गर्यौं ।
हामीले २०१२ को अन्त्यमै पहिलो लक्ष्य हासिल गर्यौं पनि । त्यो वर्डक्याम्पमा वर्डप्रेस अटोमेटिकबाट फिलिप अर्थर मुरसमेत मुख्य वक्ताको रुको आएका थिए । मानिसहरूमा वर्डप्रेससम्बन्धी जानकारी नभएको अवस्थामा वर्डप्रेसमै लागेर करियर बनाउन चाहनेको संख्या स्वभावैले कम हुन्थ्यो । सुरुवाती दिनमा हाम्रो कम्युनिटी संघर्षमै थियो । वर्डप्रेस र हाम्रो कम्युनिटीको प्रभावकारिता बुझाउनलाई धेरै गाह्रो हुन्थ्यो । समयसँगै वर्डक्याम्पको क्रेज बढ्न थाल्यो । हामी यहाँसम्म पुग्छौं भन्ने त थाहा थियो, तर यति छिटै आइपुग्छौं भन्ने थाहा थिएन । अहिले आर्ईटी विद्यार्थी र युवा वर्डप्रेसरका लागि ठूलो चाड बनेको छ ‘वर्डक्याम्प’ ।
सुरुमा हाम्रो उद्देश्य थियो, वर्डप्रेसमा आधारित अवसरबारे जानकारी दिनु । विस्तारै आईटी उद्योगलाई जोड्ने, उद्यमशीलतामा वृद्धि गर्ने, युवा र महिलाको सशक्तीकरण गर्ने लगायत विषयमा पनि वर्डक्याम्पको विशेष योगदान हुन थाल्यो । २०१२ मा वर्डक्याम्प गरौं भनेर नेतृत्व र अग्रणी भूमिका खेल्ने एक सहकर्मी अग्रजको नाम हो उज्ज्वल थापा । उहाँसँगै सकिन श्रेष्ठ, चन्द्र महर्जनले यो भिजनलाई आत्मसात् गर्दै सक्रिय भूमिका खेल्नुभयो ।
हामी सबै काठमाडौंतिर बस्ने भएकाले काठमाडौंबाटै वर्डक्याम्प सुरु गरौं भनेर बालुवाटारस्थित चप्पल कारखानामा कार्यक्रम गर्न थाल्यौं । त्यो मिटअपमा वर्डप्रेसका फिलिप अर्थरमर मुख्य वक्ताको रूपमा आएका थिए । काठमाडौंमा भएको पहिलो वर्डक्याम्प भव्य सफल भएपछि हामी झनै हौसिएका थियौं । सन् २०१९ सम्म आउँदा वर्डक्याम्प धेरै अर्थमा व्यापक, भव्य र चर्चित कार्यक्रमको रूपमा स्थापित हुन सफल भएको छ । वर्डप्रेससम्बन्धी विविध विषयमा छलफल हुने गरेका छन् । आइटी जगतमा ज्ञान बाँड्ने र लिने प्लाटफर्म बनेको छ । नेटवर्किङ गर्न चाहनेका लागि उत्तम अवसर बनेको छ ।
फेसबुकमा रहेको वर्डप्रेस नेपाल नामक ग्रुपका साथीहरू नै त्यतिबेला देखि नै कम्युनिटीका सक्रिय सदस्य थिए । अहिले काठमाडौंबाट काभ्रे, पोखरा, भरतपुर आदि भएको छ । काठमाडौं मात्र विशेष कम्युनिटी भन्ने रहेन । वर्डप्रेसमा लागिरहेका वा छरिएर काम गरिरहेका व्यक्तिहरू र कम्पनीहरू यो कम्युनिटीमा आउनुभएको छ । यसले हाम्रो कम्युनिटीलाई झनै ठूलो बनाइदिएको छ ।
म स्वयम् देशका विभिन्न ठाउँमा वर्डप्रेस र कम्युनिटीको भ्यालु बढाउने काममा २०१२ देखि आजको मितिसम्म सक्रिय छु । विभिन्न मिटअपको गुणस्तर साथीहरुले दिनप्रतिदिन बढाइरहनु भएको छ । हालै बुटवल, पोखरा पुगेर त्यहाँका लोकल वर्डप्रेस कम्युनिटीले आयोजना गरेका वर्डक्याम्पमा पनि सहभागिता जनाएँ । यस्ता गतिविधिमार्फत् उनीहरू पनि वर्ड क्याम्पमार्फत भ्यालु क्रिएट गर्न हौसिएका छन् ।
युवालाई उद्यमी बनाउनुपर्छ भन्ने आवाज र अभ्यास सन् २०१२ देखि नै हामीले सुरु गरेका थियौं । हामीले सबै आईटी कलेजमा वर्डप्रेस मिटअप गर्ने योजना ल्यायौं । केही हदसम्म सफल पनि भयौं । सुरुको मिटअप अस्कल क्याम्पसमा राखेका थियौं । अन्य कलेजमा पनि विस्तार गर्दै गयौं । वर्डप्रेस के हो र यसको कसरी व्यावहारिक प्रयोग गर्ने भन्ने विषयमा सिकाउँदै गयौं । विशेषतः उपत्यकाका आईटी कलेजहरूमा वर्डप्रेसका इभेन्ट गर्न थाल्यौं । धेरै जना युवा वर्डप्रेस चलाउन र करियर बनाउन उत्साहका साथ आबद्ध भए ।
२०१३, २०१४ हुँदै २०१५ सम्म आउँदा हरेक वर्षका वर्डक्याम्प प्रभावकारी बन्दै गए । वर्डक्याम्प गर्न हामी पनि अभ्यस्त भइसकेका थियौं ।
२०१५ को ‘वर्डक्याम्प नेपाल’पछि हाम्रो कम्युनिटीका साथी रोशन भट्टराई र मबीच उद्यमी घरमा वर्डप्रेस मिटअप उपत्यकाबाहिर पनि गर्नेबारे छलफल भयो । जसमा सकिन श्रेष्ठले सारै सहयोग गर्नुभयो । पहिलो थालनी चितवनबाट गर्ने निष्कर्षअनूरूप हामीले चितवनको विरेन्द्र बहुमुखी क्याम्पसमा वर्डक्याम्प गर्न सक्यौं । यसअघि नै उज्ज्वल थापासहितका टिमले विराटनगर गएर एकतहको वर्डप्रेस तालिम दिइसकेका थिए । हाम्रो अनुसन्धानले के भन्यो भने लोकल कम्युनिटीका सदस्यहरू जबसम्म आफै एक्टिभ हुँदैनन् तबसम्म वर्डक्याम्प र वर्डप्रेस मिटअप सार्थक रूपले सञ्चालन गर्न सकिँदैन । त्यसैले हामीहरूले उहाँहरूलाई ट्रेन गर्ने, रिसोर्स प्रदान गर्ने, टुल्स र टेक्निक दिने लगायत काममा सहयोग गर्दै गयौं ।
यो मोडल सफल भएको महसुस गरेपछि हामीले काभ्रे, पोखरा, विराटनगर, भक्तपुर हुँदै बुटवल, वीरगञ्ज, हुम्लासम्म वर्डप्रेस कम्युनिटीको विस्तार गरेका छौं । हुम्लाका महिलालाई वर्डप्रेसमा ब्लग लेख्न सक्ने बनाएको उदाहरण हामीसामु छ । सन् २०१८ मा पोखरा, विराटनगर लगायतमा भएको वर्डक्याम्पले वर्डप्रेसको लहर ल्याउन थालेका छन् । वर्डक्याम्प मात्रै नभएर विभिन्न शहरहरूमा वर्डप्रेससम्बन्धी वर्कसप र सेमिनार हुन थालेका छन् । हामी इभेन्ट मात्रै गर्दैनौं, त्यसको इम्प्याक्टलाई पनि मापन गर्छौं । यही कारण हालसम्म ४ हजारभन्दा बढी कम्पनीहरू जोडिन आएका छन् । वर्डक्याम्पकै प्रभावले युवा साथीहरूले उद्यमशीलतामा पाइला बढाएका छन् । आईटी उद्योगले उत्कृष्ट जनशक्ति छान्ने प्लाटफर्म पाएका छन् । केही गर्न चाहनेले हौसला र बलियो साथ पाएका छन् । वर्डप्रेस मिटअपमा अहिले एक्सेसिबिलिटी, थिम डेमलपमेन्ट, प्लगइन डेभलपमेन्ट, डिजाइन, सेक्युरिटी लगायत टपिकहरूमा बढी चासो रहेको पाइन्छ ।
अहिलेको विश्व बजारको ६० प्रतिशतभन्दा बढी वेबसाइट वर्डप्रेसमा बनेका छन् । सीएनएन, टेकक्रन्च, बीबीसी अमेरिका जस्ता चर्चित साइटहरू केही उदाहरण हुन् । कन्टेन्ट म्यानेजमेन्ट सिस्टमको बजारमा पनि ३० प्रतिशतभन्दा बढी हिस्सा वर्डप्रेसको छ । यी यस्ता तथ्य भएर नै वर्डप्रेसको मार्केटमा भ्यालु छ । अहिले विभिन्न ठाउँमा वर्डप्रेस कम्युनिटी विस्तार भइरहेको छ । जोकोही यहाँ आबद्ध हुन सक्छन् । वर्डप्रेसले आन्ट्रप्रेनियर बन्न र आईटी उद्योगको आवश्यकता बमोजिम दक्षता हासिल गर्न सहयोग गरिरहेको छ । अर्कोतर्फ नयाँ बन्न लागेको आईटी एक्टमा डिजिटल डिभाइड, डिजिटल लिट्रेसी, क्लाउड कम्प्युटिङ, सेक्युरिटी लगायत विषय समावेश गरिएको छ । उद्योगले मागेका जनशक्ति बनाउन व्यवहारिक र व्यावसायिक ज्ञान तथा तालिम दिन हाम्रो आवश्यकता पर्छ ।
कलेजमा पढ्ने भाइबाहिनीले हामीले वर्डप्रेस सेमिनारमा दिएको ज्ञानकै जगमा आफ्नै कम्पनी खोल्न सफल भइरहेका छन् । देशका विभिन्न भागमा उद्यमशीलताको सपना बोकेर हिँड्ने युवा साथीले हौसला पाइरहेका छन् । समग्रमा भन्दा उद्यमशीलता, महिला सशक्तीकरण, रोजगारी, भ्यालु बेस्ड आर्ईटी सोसाइटीको अवधारणामा काम वर्डप्रेस नेपाल र अन्य ठाउँका लोकल वर्डप्रेस कम्युनिटीहरूको भूमिका महत्त्वपूर्ण बनिरहेको छ । हामी सरकारले ल्याएको भिजन २०–२० को फ्रेमवर्कमा पनि योगदान दिन चाहन्छौं । सँगसँगै अरु कम्युनिटीसँग पनि मिलेर काम गर्न खोजिरहेका छौं । सन् २०१२ देखिका तथ्य समेटेर वर्डप्रेस डिरेक्ट्री पनि ल्याउँदै छौं ।
अन्त्यमा म के भन्न चाहन्छु भने आउनुहोस् मिलेर यो देशमा आइटीको माहोल बनाऔं । समृद्धिका भाषणभन्दा काम गरेर उदाहरण बनौं, नेपालमा पनि प्रशस्त सम्भावना छन् ।