कीवर्डहरू -

प्रविधिको सहायताले मिल्यो क्षणभरमै एसईईको नजिता 

प्रविधिको सहायताले मिल्यो क्षणभरमै एसईईको नजिता 

काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक  माध्यमिक विद्यालयका विद्यार्थी केशवकान्त पौडैललाई माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्राप्त गर्न कुनै गाह्रो अनुभव भएन । परीक्षाफल सार्वजनिक भएको केही मिनेटमै पौडेलले सजिलै तरिकाले राष्ट्रिय परीक्षा बोर्डबाट नतिजा प्रकाशन गर्न सूचीकृतमध्येको नेपाल टेलिकमको एसईई डट नेट डट एनपीबाट नतिजा थाहा पाए ।

‘एसइई परीक्षाको नतिजा आएको तत् क्षण नतिजा थाहा पाएँ। मेरो ३.७ जीपीए आयो,  उनले खुसी व्यक्त गर्दै भने, ‘मेरो सपना आधा पूरा भयो।अब म त सफ्टवेयर बनाउने विषय लिएर पढ्छुँ।’


प्रविधिले हरेक क्षेत्रमा सहायता गरे झै परीक्षाको नतिजा हेर्न पनि निकै सहज बनाइदिएको छ । पौडेलले विद्यार्थीहरूले छिटो, छरितो  र भरपर्दो रूपमा आफूजस्तै धेरै साथीले नतिजा हेरेको सुनाए । ३.७ जीपीए प्राप्त गरेका पौडेलले भविष्यमा सफ्टवेयर इञ्जिनीयर बन्ने योजना रहेको मात्र सुनाएनन्।प्रविधिमार्फत नेपाललाई विकासमा सघाउने सपना आफूभित्र रहेको पनि बताए ।

यस्तै सिनामंगलस्थित प्रस्फुटन एकेडेमीका विद्यार्थी एलेक्स शेर्पाले पनि परीक्षाफल सार्वजनिक भएको केही मिनेटमै सहज रूपमै नतिजा हेर्न पाए । उनले राष्ट्रिय परीक्षा बोर्डबाट नतिजा प्रकाशन गर्न सूचीकृतमध्येको खल्ती डटकमबाट नतिजा थाहा पाए । ‘प्रविधिको सहजताले परीक्षा नतिजा पाउन सहज भएको छ, यसले आफूजस्ता विद्यार्थीहरूलाई समयमै सहजरूपमा नजिता हेर्न सकिएको छ’,  शेर्पाले भने । एसइईमा ३.५५ जीपीए हासिल गरेका शेर्पाले कुन विषय अध्ययन गर्ने र भविष्यमा के भन्ने भन्ने अहिले नै टुङ्गो लागि नसकेको सुनाए ।

कोटेश्वरकी दिक्षिता परियारले पनि एसइईको परीक्षाफल सार्वजनिक हुने बित्तिकै एनटीसीको वेबसाइटमार्फत नतिजा थाहा पाइन् । बानेश्वरका केएमसी स्कुलका विद्यार्थी परियारले ३.९ जीपीए ल्याएकी छिन् ।  प्रविधिले सहज रूपमा छिटो परीक्षाफल प्राप्त गर्न पाउँदा आफू निकै हर्षित भएको अनुभव सुनाइन् । १६ वर्षीया परियारको भविष्यमा कम्प्युटर इञ्जिनियर बन्ने योजना रहेको छ ।

कीर्तिपुर -२ ट्याङ्लाफाटको सिद्धार्थ बोर्डिङ माध्यमिक स्कूकी विद्यार्थी कृतिका तामाङले परीक्षाफल प्रकाशित भएको क्षणभरमै नतिजा थाहा पाइन् । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमार्फत नतिजा थाहा पाएकी तामाङले प्रविधिले सह जरूपमा चाँडो नतिजा पाउन सम्भव भएको अनुभव सुनाइन् । एसइईमा ३.६५ जीपीए ल्याएकी तामाङले कक्षा ११ मा विज्ञान विषय लिई अध्ययन गर्ने योजना रहेको बताइन् । उनले भनिन्, ‘म त विज्ञान विषय लिएर पढ्ने योजना बनाएकी छु। भविष्यमा डक्टर बनेर मामुको रोग निको पार्छु।’

यी प्रतिनिधि विद्यार्थीजस्तै सहरदेखि गाउँकुनासम्मका विद्यार्थीलाई एसइईको नतिजा थाहा पाउन प्रविधिको माध्यमबाट सहज भएको छ । नेपाल टेलिकमले २०७९ सालको एसइई परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरेको थियो । यसले विद्यार्थी र अभिभावकलाई लागि आफ्ना छोराछोरीको परीक्षाफल हेर्न निकै सहज भएको थियो ।

कुनै बेला प्रवेशिका परीक्षाको नतिजा थाहा पाउन साता दिनसम्म लाग्दथ्यो । सञ्चार माध्यम र प्रविधिको पहुँच नहुँदा ढिलो गरी परीक्षाको परिणाम थाहा पाउनुपर्ने बाध्यता थियो । गोरखापत्रमा प्रकाशित भएको नतिजा जिल्ला जिल्लामा पुग्न ७ दिनभन्दा बढी लाग्दथ्यो । अहिले प्रविधिको सहजताले क्षणभरमै परीक्षाको नतिजा थाहा पाउन सहज भएको हो ।

नेपाल टेलिकका प्रवक्ता सोभन अधिकारीले प्रविधिको पहुँचले विद्यार्थीलाई परीक्षाको नतिजा चाँडै थाहा पाउन सहज भएको बताउँछन् । उनी भन्छन्, ‘टेलिकमले अरु एजेन्सीमार्फत पनि परीक्षाको नतिजा हेर्न पाउने व्यवस्था मिलाएको छ।हामीले विद्यार्थीलाई सहज होस् भनेर प्रत्‍येक वर्ष एसईईलगायत त्रिविको परीक्षाफल पनि सार्वजनिक गर्दै आएका छौं।’

टेलिकमले राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित भएको एसइई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको थियो । नतिजाका लागि टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिन्थ्यो ।

यसअनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशनअनुसार गरेमा नतिजा थाहा पाउने व्यवस्था गरेको थियो । एसइई नतिजाका लागि १६०० मा डायल गर्दा प्रति कल करबाहेक जम्मा रु २ मात्र महशुल निर्धारण गरेको टेलिकमले जनाएको छ । यसरी दुई मिनेटको समयावधिलाई एक कल मानिएको थियो ।

प्रवक्ता अधिकारीले राष्ट्रिय परीक्षा बोर्डबाट रोयल्टी तिरेर विभिन्न माध्यममार्फत एजेन्सीमार्फत सहजै नतिजा हेर्ने व्यवस्था गरिएको जानकारी दिए । उनले भने,‘प्रविधिको माध्यम जति बढ्यो त्यति सहजता भएको छ, परीक्षाको नतिजाजस्तै विभिन्न सेवामा छिटो र छरितो ढङ्गले सेवा प्रवाह गर्न टेलिकमले प्रयास गरिरहेको छ ।’

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अङ्ग्रेजी अल्फाबेट एसइई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE ) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । उदाहरणका लागि SEE 01011559 टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ । १६०० मा सन्देश पठाउँदा पनि प्रतिसन्देश करबाहेक जम्मा रु २ मात्र महसुल लाग्नेछ । नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत पनि मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिन्छ ।

नतिजा प्रकाशित भएको केही समयपछि नै यसको उपयोग गर्न सकिन्छ । यसबाट सम्पूर्ण विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ । एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावक जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौँतारिने गर्छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले जानकारी दिए । यसका लागि विद्यार्थीले वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था मिलाइएको उनले बताए ।

एसइईको नतिजा एसएमएस र इन्टरनेटको माध्यमबाट हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था गरेको उनले बताए ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट
www.see.gov.np मा पनि हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको
www.neb.gov.np नेपाल टेलिकमको www.see.ntc.net.np सहित अनुमति लिएका विभिन्न साइट र अनलाइनबाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा ९एसइई० कक्षा १० को परीक्षाफल बिहीबार दिउँसो प्रकाशित गरेको थियो ।

उक्त नतिजा अनुसार बागमती प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ११ हजार ४८१ रहेको छ । जुन बाँकी ६ प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने कुल विद्यार्थी संख्या भन्दा बढी हो । बागमतीमा कुल ९९ हजार २४३ जनाले एसईई दिएकामा ३।६ देखि ४ जीपीएसम्म ल्याउने ११.५६ प्रतिशत रहेका छन् ।

यो ग्रेड समूहमा ग्रेडिङ हुने विद्यार्थी लुम्बिनीमा २ हजार ७९५, कोशीमा २ हजार ७०७, मधेशमा २ हजार १८५, गण्डकीमा १ हजार ६४७, सुदूरपश्चिममा ४०० र कर्णालीमा २४० जना रहेका छन् । प्रतिशतमा हिसाब गर्दा ३.६ देखि ४ जीपीए ल्याउनेहरु गण्डकीमा ३.९३, कोशीमा ३.५२, लुम्बिनीमा ३.३८, मधेशमा २.८२, सुदूरपश्चिममा ०.७३ र कर्णालीमा ०.६४ प्रतिशत छन् ।

३.२० देखि ३.६० जीपीएसम्म ल्याउने विद्यार्थी पनि बागमती प्रदेशमा नै धेरै रहेका छन् । यो ग्रेड समूहमा बागमतीका २० हजार २२१ जना विद्यार्थी छन् । जुन यो प्रदेशबाट एसईई दिने कुल विद्यार्थी संख्याको २०.३७ प्रतिशत हो ।

यो ग्रेड समूहमा कोशीका ८ हजार ३३२, मधेशका ८ हजार ४४९, गण्डकीका ४ हजार ६९३, लुम्बिनीका ६ हजार ८१३, कर्णालीका १ हजार ३२० र सुदूरपश्चिमका १ हजार ८१० जना विद्यार्थी रहेका छन् ।

सातै प्रदेशको एसईई नतिजा

प्रदेश

कूल विद्यार्थी संख्या

३.६ देखि ४ जीपीए(%)

३.२ देखि ३ .६ जीपीए(%)

बागमती

९९,२४३

११.५६

२०.७३

गण्डकी

४१,८८४

३.९३

११.२०

कोशी

७६,७४३

३.५२

१०.८५

लुम्बिनी

८२,६७७

३.३८

८.२४

मधेश

७७,३२४

२.८२

१०.९२

सुदूरपश्चिम

५४,२५८

०.७३

३.३३

कर्णाली

३७,४५७

०.६४

३.५५

कूल

४,६९,५८६

स्रोत : राष्ट्रिय परीक्षा बोर्ड

प्रतिशतमा हिसाब गर्दा ३.२ देखि ३.६ जीपीए ल्याउनेहरु गण्डकीमा ११.२०, मधेशमा १०.९२, कोशीमा १०.८५, लुम्बिनीमा ८.४२, कर्णालीमा ३.५५ र सुदूरपश्चिममा ३.३३ छन् ।

२.८० देखि ३.२० जीपीए ल्याउनेमा पनि बागमतीकै विद्यार्थी धेरै छन् । बागमतीका १९ हजार २८८, मधेशका ११ हजार ५१२ र कोशीका ११ हजार ६२९ जना, लुम्बिनीका १० हजार २०१, सुदूरपश्चिमका ८ हजार १२, गण्डकीका ६ हजार ८५७ र कर्णालीका ३ हजार ६८८ जना विद्यार्थी रहेका छन् ।


सबैभन्दा कमजोर ग्रेड समूह अर्थात् ०.८० देखि १.२ जीपीए ल्याउनेमा भने बागमतीका कम विद्यार्थी छन् । सबैभन्दा धेरै लुम्बिनीका ७१९, सुदूरपश्चिमका ६३३, मधेशका २६५, कोशीमा २६४, कर्णालीका १२४, बागमतीका ११३ र गण्डकीका ८२ रहेका छन् ।

कमजोर ग्रेड समूह अन्तर्गत नै १.२ देखि १.६ जीपीएसम्म ल्याउनेमा सबैभन्दा धेरै लुम्बिनीका १० हजार ५७३ जना छन् । त्यस्तै सुदूरपश्चिमका ८ हजार ८३३, मधेशका ७ हजार २५०, कोशीमा ४ हजार ९५८, बागमतीका २ हजार ५४३, गण्डकीका २ हजार ५८ र कर्णालीका २५४ जना रहेका छन् ।

१.६० जीपीए भन्दा कम ग्रेड ल्याउनेले कक्षा ११ पढ्न पाउने छैनन् । उनीहरुले कक्षा ११ पढ्न योग्य हुन ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ ।