कीवर्डहरू -

सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्छौः सञ्चारमन्त्री

सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्छौः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले डिजिटल साक्षरता प्रवर्द्धन र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको बताएकी हुन् ।

‘आगामी आर्थिक वर्षमा कानुनको तर्जुमा गरी सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने व्यहोरा अवगत गराउन चाहन्छु । विद्युतीय तथ्यांकहरुको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने छ’ उनले भनिन् ।

साइबर सुरक्षासँग सम्बन्धित विषयहरु एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी अन्तिम चरणमा रहेको मन्त्री शर्माले बताइन् ।

मन्त्री शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भइ सञ्चालनमा रहेको जानकारी दिइन् ।

गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रशारण भइरहेको पनि मन्त्री शर्माले बताइन् ।