कीवर्डहरू -

मेटा कम्पनीमाथि दैनिक १ लाख डलर जरिवाना, कार्ययोजना नबन्दासम्म तिरिरहनुपर्ने 

मेटा कम्पनीमाथि दैनिक १ लाख डलर जरिवाना, कार्ययोजना नबन्दासम्म तिरिरहनुपर्ने 

युरोपेली मुलुक नर्वेको डाटा सुरक्षण प्राधिकरणले प्रयोगकर्ताका डाटाको सुरक्षा तथा गोपनियता उल्लंघन गरेको आरोपमा फेसबुकको मातृ कम्पनी मेटामाथि भारी जरिवानाको निर्णय गरेको छ ।

प्राइभेसी उल्लंघनको आरोपमा मेटा कम्पनीले हरेक दिन १ लाख डलर जरिवाना तिर्नुपर्ने फैसला प्राधिकरणले गरेको हो ।

यस अनुसार मेटाले जबसम्म प्रयोगकर्ताको डाटा गोपनियताको उल्लंघनलाई रोक्नका लागि कुनै कार्ययोजना बनाउँदैन तबसम्म उसले दैनिक रुपमा १ लाख डलर जरिवाना तिरिरहनु पर्नेछ ।

डाटा सुरक्षा प्राधिकरणका अनुसार मेटाले डाटा सुरक्षणको विषयमा कुनै कार्यवाही अगाडि नबढाएमा उसबाट अगष्ट ४ देखि नोभेम्बर ३ सम्म दैनिक रुपमा जरिवाना असूल गरिनेछ ।

मेटाले नर्वेमा प्रयोगकर्ताको भौतिक लोकेसन लगायतका जानकारीहरु विज्ञापनका लागि उपयोग गर्ने गर्दछ । जबकि नर्वेको कानूनले यसरी प्रयोगकर्ताको लोकेसनका बारेमा जानकारी लिन पाइँदैन ।

डाटाटिल्सिनेटका अन्तराष्ट्रिय विभाग प्रमुख टोबियास जुडिनका अनुसार मेटाको यस्तो काम पूर्णरुपमा गैरकानूनी भएकाले यस्तो काम गर्नबाट मेटालाई तुरुन्तै रोक्नुपर्दछ । आफुहरु अब थप पर्खिन नसक्ने र मेटामाथि तत्कालै हस्तक्षेपको आवश्यकता रहेको उनले बताए ।

उक्त निकायको जरिवानाको फैसलाले मेटामाथि अतिरिक्त दबाब पर्ने उनको भनाई छ । यदि डाटाटिल्सिनेटको सो निर्णयलाई युरोपेली डाट सुरक्षण बोर्डले स्वीकृति प्रदान गरेमा युरोपमा यसको क्षेत्रीय दायरा बढ्नेछ ।

नर्वेको डाटा सुरक्षण प्राधिकरण डाटाटिल्सिनेटको फैसलाको समीक्षा गरिरहेको भन्दै मेटाले तत्काल यसबाट आफ्नो सेवाहरुमा भने कुनै असर नपर्ने जनाएको छ ।

युरोपेली युनियन पनि प्रयोगकर्ताको गोपनियताको विषयलाई लिएर मेटामाथि सख्त रुपमा प्रस्तुत भैरहेको समयमा नर्वेले पछिल्लो जरिवानाको निर्णय गरेको हो ।

मेटाले प्रयोगकर्ताका डाटा गैरकानूनी रुपमा प्रयोग गर्न नपाउने इयूको भनाई छ । गतवर्ष आयरल्याण्डको नियामक निकायले पनि मेटालाई सुरक्षा उल्लंघनको आरोपमा जरिवाना गरेको थियो । एजेन्सी