कीवर्डहरू -

जहाँ समस्या, त्यहाँ ‘सेवा चौतारी’

जहाँ समस्या,  त्यहाँ ‘सेवा चौतारी’

जहाँ समस्या हुन्छ, त्यहाँ स्टार्टअप जन्मिन्छन् । यस्ता स्टार्टअपले समाधानका अनेक शैली अपनाउँछन् । तर, बजारले सबैलाई पत्याउँदैन । जसले सेवा दिन्छ र परिणाम दिन्छ, उसैले विश्वास जित्छ । यसर्थ स्टार्टअप व्यवसाय चानचुने व्यवसाय होइन । पछिल्लो समययता यस्तै जोखिम उचाल्ने तन्नेरीको संख्या बढ्दै छ । यो जमातमा सुनिल बुढाथोकी, निर्दोष लम्साल, प्रभात खाँड ठकुरी र सुमन लम्साल पनि मिसिन आएका छन् । उनीहरू ‘सेवा चौतारी’मा दिनरात खटिरहन्छन् । सेवा चौतारी चैं उनीहरूले सुरु गरेको कम्पनी हो । चारै जनाले भारतबाट उच्च शिक्षा लिए । कोही चार्टर्ड एकाउन्टेड त कोही एमबीए उत्तीर्ण छन् । फरक काम गर्न चाहने यी ४ जनाको अठोटले नै सेवा चौतारी जन्मियो ।

\"Image के हो सेवा चौतारी ?
भारतमा पढ्दा त्यहाँ प्रविधिमा आधारित स्टार्टअपहरूको क्रेज देखेका थिए उनीहरूले । कोही दिल्ली र कोही बैंङ्लोर पढ्थे । आपसमा कुराकानी भइरहन्थ्यो । नेपालमा नौलो काम सुरु गर्न घोत्लिन्थे । ‘अध्ययनसँगै निरन्तर अनुसन्धान ग¥यौं । यस्तो फरक शैलीको व्यवसाय जसबाट जनतालाई लाभ दिन पाइयोस् । कुनै यस्तो व्यवसाय जहाँबाट सबै समस्याको समाधान दिन सकियोस्,’ कम्पनीका सहसंस्थापक सुनिल बुढाथोकीले ती दिन सम्झिँदै भने, ‘हामीले गरेको अनुसन्धानबाट नेपालमा अनप्रोफेसनल सर्भिसहरू प्रोफेसनल म्यानरबाट नभएको पायौं । कस्टमरले त्यस्ता सर्भिस पाउन धेरै समस्या झेलिरहेको अवस्था भेट्यौं । प्लम्बिङ, कारपेन्टिङ, एप्लायन्सहरूको रिपेयर मेन्टेनेन्सहरूको काममा जनतालाई धेरै समस्या रहेको पायौं,’ उनले भने । यही कारण सुनिलको टिमले सेवा चौतारी जन्मायो । विस्तारै प्रोफेसनल सर्भिस दिन थालेका छन् उनीहरूले । इन्टेरियर डिजाइन, इन्जिनियरिङ कन्सल्टेन्सी, बिजनेश कन्सल्नेटन्सी जस्ता सेवा थप्दै गएको अर्का सहसंस्थापक निर्दोष लम्साल बताउँछन् ।

१० महिनामा ५ सयलाई सेवा
२८ मार्च २०१८ मा उनीहरूले कम्पनी दर्ता गरेका थिए । त्योभन्दा अघि १ वर्षसम्म टिममा रहेर रिसर्च गरे । दर्ताको केही महिनापछि काम सुरु भयो । हुन त ग्राहकको पहिलो काम कम्पनी दर्ता हुनुअघि नै आएको रहेछ । ‘पुतलीसडकमा चिनेको कन्सल्टेन्सीबाट फोन आयो । तत्काल चिनेकै मान्छेबाट काम गरायौं । त्यति नै बेला हाम्रो टिमले के सोच्यो भने सेवा चौतारीको बजार फराकिलो छ । घर, अफिसहरूमा दिनहुँ यस्ता कामका लागि जनशक्ति चाहिएको छ । अनि सोच्यौं हामी सही दिशातिर लागेका रहेछौं,’ सुनिलले ती दिन सुनाए । समयसँगै आफूले दिने सेवाको बजारीकरण गर्न थाले उनीहरूले । फेसबुकमा विज्ञापन गरे । वेबसाइटबाट प्रचारप्रसार गरे ।

कसरी दिइरहेको छ सेवा ?
सेवा चौतारीले सञ्चालन गरेका सेवा हेर्दा सामान्य लाग्छन्, तर मानिसको जनजीविकासँग जोडिएका छन् । बिजुलीको बल्ब फेर्नदेखि प्लम्बङिका कामहरू, कारपेन्टिङ, कम्प्युटर मर्मत, घर भाडा खोजिदिने, नेटवर्किङ लगायत काममा सबैभन्दा बढी काम आउने गरेको प्रशान्त बताउँछन् । ‘सुरुमा ग्राहकसँग फोनमा कुराकानी हुन्छ । इमर्जेन्सी केश हो भने तत्कालै रेस्पोन्स गर्न थाल्छौं । कुन कामका लागि माग भएको छ, त्योअनुसारको फर्म भरेपछि ग्राहकको नजीक रहेका हाम्रा एशोसिएट ह्युमन रिसोर्सलाई सम्पर्क गर्छौं । जोसँग खाली समय छ, उसलाई प्राथमिकता दिन्छौं । यदि उनीहरू सबै व्यस्त छन् भने अफिसकै आन्तरिक टिम ग्राहकसम्म पुग्छ,’ उनले भने । उनले औसतमा दैनिक १०÷१२ फोन कल आउने जानकारी दिए । ‘ललितपुर, काठमाडौं र भक्तपुर जहाँजहाँबाट माग आएको छ, त्यहाँ सेवा प्रदान गरेका छौं,’ उनले भने । ग्राहकलाई सकभर स्थानीय प्राविधिकबाटै काम गराउँदा सस्तो र चाँडो पर्छ ।

किन सेवा चौतारी नै ?
घरको ट्वाइलेट जाम भयो, पानी लिक भयो, कम्प्युटर, टिभी ममर्त गर्नुपर्यो, प्लम्बिङको काम गर्नुपर्यो, कोठामा कार्पेट बिछ्याउनुपर्ने भयो वा अरु के कामका लागि मान्छे चाहियो ? ‘यी सबै काम सेवा चौतारीमार्फत् दिने प्रयास गरेका छौं । वान स्टप सोलुसन्स दिन खोजेका छौं’ कम्पनीका अर्का सहसंस्थापक प्रभात खाँड ठकुरीले भने । उनले भने, ‘यस्ता काम घर वरिपरिकै प्राविधिकबाट पनि गराउन सकिन्छ । अहिलेसम्म यसरी नै नागरिकले सेवा लिएका छन् । तर, त्यो प्राविधिक भनेको समयमा उपस्थित हुँदैन । आफ्नो पायक पर्ने समयमा उपलब्ध हुन्छ । ग्राहक तत्काल समाधान खोज्छन् । यसर्थ सेवा चौतारीमार्फत काम गराउँदा विश्वसनीय र प्रभावकारी हुन्छ ।’ हाल काठमाडौं, भक्तपुर र ललितपरमा रहेका यस्ता कामका जनशक्तिसँग मिलेर काम गर्ने गरेको उनी बताउँछन् । ग्राहकले माग गरेपछि सोही स्थानमा रहेका प्राविधिकसँग सम्झौता गरेर सेवा चौतारीले उनीहरूलाई परिचालन गरी काम गरिरहेको उनले बताए ।

जनशक्तिलाई कामसँग जोड्दै
घर, अफिस व्यवस्थापनमा चाहिने यस्ता जनशक्ति सेवा चौतारीको सञ्जालमा जोडिँदै छन् । उनीहरूको खाली समयको सदुपयोग गर्न सेवा चौतारीले मौका दिएको छ । भलै यो काम सुरुवाती चरणमा हुँदै छ । बिजनेश अवधारणा हेर्दा ग्राहकका लागि आवश्यक पर्ने यस्ता सबै काम सेवा चौतारी मार्फत हुने हो भने सेवाग्राही त खुसी हुन्छन् नै फुर्सदमा रहने जनशक्तिले पनि आर्थिक उपार्जन गर्ने अवसर पाउँछन् । ‘एग्रिगेटिङ मोडलमा त्यस्ता जनशक्तिलाई एशोसिएट गरेर अघि बढेका छौं । ग्राहकलाई केही समस्या आयो भने अफिसको फोन गरेर, फेसबुकबाट वा वेबसाइटबाट कन्ट्याक्ट गर्नुहुन्छ । त्योअनुसार सेवा चौतारीमा एशोसिएट जनशक्तिलाई नै कन्ट्याक्ट गर्ने गरिन्छ । यदि उनीहरू व्यस्त छन् भने हाम्रो अफिसबाटै ग्राहकसम्म पुग्छौं,’ सुनिलले भने ।

यस्ता चुनौती
सेवा चौतारीको उद्देश्य फुर्सदको समयमा रहेका स्थानीय प्राविधिकबाट चाँडोभन्दा चाँडो सेवा दिनु हो । उनीहरूलाई चाहिने जनशक्ति भनेको श्रमिक वर्ग हो । सरकारले त्यस्ता जनशक्ति विदेश पठाउने तयारी गरिरहेको छ । ‘सरकारले अर्कोतर्फ सर्टिफिकेट धितो राखेर व्यवसाय गर्न दिने, इन्सेन्टिभ दिने आदि व्यवस्था ल्याएको छ । अर्कोतर्फ विदेश जान प्रोत्साहन पनि गरेको देखियो । यो विरोधाभास भयो । कि विदेशमा कि यहीँ जनशक्तिको प्रवद्र्धन गर्नुपर्ने हुन्छ,’ सुनिलले भने । विदेशमा पठाउँदा देशलाई अझै पछाडि धकेल्ने खतरा रहेको उनी बताउँछन् । ‘ती श्रमिक वर्गलाई बाहिर पठाउँदा सेवा चौतारी जस्तो स्टार्टअपलाई भने प्रत्यक्ष मर्का पर्छ । ती जनशक्तिको फुर्सदको समयलाई प्रयोग गरेर यो स्टार्टअप अघि बढाउन लागिपरेको छ । स्टार्टअपलाई प्रवद्र्धन गर्ने र स्वदेशमै अवसर दिन सके समग्र देशलाई फाइदा हुने थियो,’ उनले भने ।

आगामी योजना
नवीन सोचबाट थालनी भएको सेवा चौतारी आगामी दिनमा अझै योजनाबद्ध रूपमा आउँदै छ । यो टिम सिक्दै छ । बजार बुझ्दै छ । ‘अहिले आन्तरिक रूपमै लगानी गरेका छौं । सिक्दै अघि बढेका छौं । नेपालको मार्केट पनि तयार भएको छैन । फस्ट मुभर भन्दा पनि फास्ट मुभर हुनुपर्छ भन्ने सोच राखेका छौं,’ सहसंस्थापक निर्दोषले भने । आगामी ५ वर्षमा नेपालको उत्कृष्ट मार्केट प्लेस आफूहरू बन्ने दाबी उनको छ । सेवा चौतारीको सेवालाई नेपालभरि नै विस्तार गर्ने योजना छ । अन्य प्रोफेसनल सर्भिसको संख्या पनि बढाउने योजना छ । ‘सेवा चौतारीको प्लाटफर्मबाट कस्टमरले प्रत्यक्ष लाभ लिन सक्ने अभियानमा सरिक छ । टिमका हरेक सदस्यसँग ‘प्यासन’ छ । परिवारले पनि जे गर्न लागेको छ ब्याक सपोर्ट, मोरल सपोर्ट र क्यापिटलबाट सपोर्टमा काम गरेको छ,’ उनले भने ।