कीवर्डहरू -

क्यासपरस्कीका ३ नयाँ प्रडक्ट नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य

क्यासपरस्कीका ३ नयाँ प्रडक्ट नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य

नेपालमा क्यासपरस्की एन्टिभाइरसका ३ नयाँ प्रडक्ट सार्वजनिक भएका छन् । नेपालका लागि क्यासपरस्की एन्टिभाइरसको आधिकारिक बिक्रेता सागर ग्रुपले नेपालमा ३ प्रडक्ट भित्र्याएको हो ।

नेपालमा क्यासपरस्कीका ३ प्रडक्ट क्यासपरस्की स्ट्याण्डर्ड, क्यासपरस्की प्लस र क्यासपरस्की प्रिमियम उपलब्ध भएका छन् ।

यी ३ प्रडक्टमा छुट्टा छुट्टै सुविधा छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार यी प्रडक्ट खरिद गर्न सक्ने छन् । क्यासपरस्की एन्टिभाइस विन्डोज, म्याक, एनड्रोइड र आईओएसमा प्रयोग गर्न सकिने छ ।

क्यासपरस्कीले अहिलेको डिजिटल युगमा गोपनीयता र डेटा सुरक्षामा सघाउने सागर ग्रुपका बिजनेस प्रमुख प्रकाश भन्डारीले बताए ।

यस्तै क्यासपरस्की दक्षिण एशियाका बिक्री प्रमुख पुरूषोतम भाटियाले क्यासपरस्की नेक्स्ट जेनेरेसनको साइबर सक्युरिटी सोलुसन भएको बताए ।

क्यासपरस्की स्ट्याण्डर्डमा रियल टाइम प्रोटेक्सन, सेफ ब्राउजिङ एण्ड एन्टिफिसिङ, भाइरस रिमुभ टुल, फायरवाल एण्ड नेटवर्क प्रोटेक्सन, डुनट डिस्टर्ब मोड, वेबक्याम्प एण्ड माइक प्रोटेक्सन लगायतका सुविधा छन् । एक वर्षका लागि एउटा डिभाइसका क्यासपरस्की स्ट्याण्डर्डको मूल्य ९९९ रूपैयाँ तोकिएको छ भने ३ वटा डिभाइसका लागि १९९९ रूपैयाँ तोकिएको छ ।

यस्तै क्यासपरस्की प्लसमा स्ट्याण्डर्ड भर्सनमा उपलब्ध सबै फिचर उपलब्ध छन् । यस बाहेक यसमा भीपीएन, पासवर्ड म्यानेजर, डेटा लिक चेकर, पासवर्ड सेफ्टी स्टाटस लगायतका सुविधा छन् ।

यदी एउटा डिभाइसमा मात्रै क्यासपरस्की प्लस प्रयोग गर्न चाहनुहुन्छ भने त्यसको वार्षिक मूल्य १९९९ रूपैयाँ तोकिएको छ । ३ वटा डिभाइसका लागि वार्षिक मूल्य ३४९९ रूपैयाँ पर्नेछ ।

क्यासपरस्की प्रिमियममा स्ट्याण्डर्ड र प्लस भर्सनका सबै सुविधा उपलब्ध छन् । यस बाहेक डिजिटल आइडेन्टिटी प्रोटेक्सन, फास्ट भीपीएन सुविधा, डेटा स्टोर गर्न इन्क्रिप्सनसहितको प्रोटेक्सन वालेट, पिसी हेल्थ चेक, र प्रिमियम रिमोट आईटी सपोर्ट उपलब्ध रहेको छ ।

साथै प्रिमिमय खरिद गर्ने ग्राहकले क्यासपरस्की सेफ किड्स बोनसको रूपमा पाउने छन् । एउटा डिभाइसमा क्यासपरस्की प्रिमियम प्रयोग गर्न वार्षिक ३४९९ रूपैयाँ तिर्नुपर्ने छ भने ३ वटा डिभाइसमा प्रयोग गर्न वार्षिक ५४९९ रूपैयाँ तिर्नुपर्नेछ ।

नेपालमा सागर ग्रुपले सन् २००८ देखि नै क्यासपरस्कीको बिक्री वितरण गर्दै आएको छ ।