सफ्टवेरिका कलेजले जुलाई २७ देखि जुलाई ३० सम्म आयोजना गरेको स्मार्ट प्रविधि सम्बन्धी प्रदर्शनी सम्पन्न भएको छ ।
राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्व लगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा काठमाडौँको डिल्लीबजारमा आयोजित ४ दिने प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शनी गरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा रोबो वार रहेको छ । रोबो वारमा भाइपर स्ट्राइक समूह विजेता भएको थियो भने ‘काजाडोर’ उपविजेता बनेको थियो । विजेता टोलीले क्रमशः ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् । सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रर्दशन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिन्छ । यसपटक ‘आइओटी एक्सपो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्सपो’ नाम दिइएको थियो ।