कीवर्डहरू -

दराज एपमा अब ‘आस्क दराज’  च्याटबट, के के छन् सुविधा ? 

दराज एपमा अब ‘आस्क दराज’  च्याटबट, के के छन् सुविधा ? 

नेपालको अग्रणी ई-कमर्श प्लेटफर्म दराजले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै  सपिङ अनुभवलाई सरल बनाउन एआईद्वारा सञ्चालित च्याटबट ‘आस्क दराज’ सार्वजनिक गरेको छ ।

दराजमा माइक्रोसफ्ट एजुरे ओपन एआई सेवाको पछिल्लो संघटनको घोषणा गरिएको हो । ओपन एआईको च्याटबट च्याट जीपीटीद्वारा संचालित आस्क दराजले प्रयोगकर्ताहरूलाई एआई च्याटबटसँग स्वाभाविक रूपमा छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउने कलम्पनीले जनाएको छ ।

आस्क दराजले ग्राहकको विशेष आवश्यकताहरूको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्नेछ । यसले ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेल बीचको जानकारीहरुलाई प्रस्ट पार्नेछ ।

दराज प्लेटफर्मका ब्रान्ड र बिक्रेताहरूले पनि आस्क दराजबाट लाभ उठाउन सक्छन् । आस्क दराजले सामानको दृश्यता बढाउन र नयाँ दर्शकहरूमाझ पहुँच पुर्याउन गर्न मद्दत गर्दछ |

प्रयोगकर्ता अन्तरक्रियाको संख्या बढ्दै जाँदा दराजले एआईलाई अप्टिमाइज गरिरहनेछ जसका कारण ग्राहक सेवालाई अझ टेवा पुग्नेछ । यसको बारेमा बोल्दै दराजका प्रमुख कार्यकारी अधिकृत बि.आर.के मिकेलसेनले बजार विस्तार गर्न टेक्नोलोजीको प्रयोग गरीरहेको बताए ।

‘बजारमा बढ्दो स्मार्टफोन प्रयोगले गर्दा एपमा नयाँ सुविधा ल्याएका छौं,’ उनले भने, ‘माइक्रोसफ्ट एकुरे ओपन एआई सेवाको फाइदा उठाएर आस्क दराजले थप प्रयोगकर्ताहरूलाई नजिक भई सपिङ अनुभवलाई सहज बनाउनेछ ।’

दराज नेपालले ईलेक्ट्रोनिक्स, सौन्दर्य, फेसन, स्वास्थ्य तथा थुप्रै अन्य प्रोडक्टहरुको अनलाइन व्यापार गर्दछ । १८००० भन्दा बढी बिक्रेताहरूको नेटवर्क, १.५  मिलियन सक्रिय एप प्रयोगकर्ताहरू र देशभरका १०८ शहरहरूको प्रभावशाली कभरेजको साथ दराज नेपालले ई-कमर्स परिदृश्यलाई द्रुत रूपमा परिवर्तन गरेको छ ।