राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बुधबारदेखि चितवनमा महिलाका लागि निःशुल्क बस सेवा 'ब्लू बस' सञ्चालनमा ल्याएका छन् ।
गत वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएको १००औं दिनको अवसरमा पारेर रवि लामिछानेले निःशुल्क बस सेवा सुरू गरेका हुन् ।
बसमा चितवन क्षेत्र नम्बर २ का महिलाहरूले निःशुल्क चढ्न पाउनेछन् । बुधरबारदेखि सञ्चालनमा आएको ब्लू बसमा भरपुर प्रविधिको प्रयोग गरिएको छ । उक्त बसलाई प्रविधिमैत्री बनाउने काम काठमाडौं स्लास प्लस प्रालिले गरेको हो ।
बसमा डिजिटल टिकेटिङ मसिन, स्मार्ट बेल, लोकेसन अनाउन्समेन्ट सिस्टम, ब्लु बस मोबाइल एप र अटोमेटेड स्यानिटाइजर डिस्पेन्सर जस्ता प्रविधि राखिएको छ । ब्लु बसमा ७ दिनको अवधिमा यी प्रविधिहरू राखिएको स्लास प्लसका अध्यक्ष तथा सीईओ क्षितज कार्कीले बताए ।
'स्लास प्लसले एक हप्तामै बसलाई प्रविधिमैत्री बनाउने काम गरेको हो,' उनले आइसिटी समाचारसँग भने, 'बसमा आवश्यक पर्ने डिजिटल टिकेटिङदेखि स्मार्ट बेल सिस्टमसम्म राखिएको छ ।'
पहिलो चरणमा रवि लामिछानेको सचिवालयले चितवनका ५०० महिलाहरूलाई निःशुल्क बस सेवाका लागि क्युआर कोडसहितको कार्ड वितरण गरेको छ ।
बसमा यात्रा गर्दा सह चालकले डिजिटल टिकेटिङ मसिनबाट क्युआर कोडसहितको कार्ड स्क्यान गर्नेछन् । कार्डकोन पहिचान भइसकेपछि सिस्टमले ट्राभल गर्न मिल्ने टिकेट जेनेरेट गर्नेछ ।
क्युआर कोडसहितको कार्ड नभएपनि महिलाहरू ब्लू बसमा यात्रा गर्न पाउने छन् । त्यस्ता यात्रुलाई डिजिटल टिकट दिइनेछ, जुन 'टेम्पोररी' अर्थात सिमित समयका लागि हुन्छ ।
क्युआर कोडसहितको कार्ड पहिचान गर्ने र टिकट जेनेरेट गर्ने मसिनका लागि आवश्यक पर्ने सफ्टवेयर स्लास प्लसले विकास गरेको हो । यस सिस्टमले गाडीमा को-को चढे भन्ने जानकारी राख्नुका साथै सम्भावित अनियमितता रोक्ने रवि लामिछानेले बताएका छन् ।
उक्त सफ्टवेयरले प्रिन्टका लागि कार्ड डिजाइन पनि गर्ने सीईओ कार्की बताउँछन् । यसका साथै ब्लू बस नामक मोबाइल एप समेत सार्वजनिक भएको छ । अहिलेलाई प्ले स्टोरमा उपलब्ध रहेको एप छिट्टै एप स्टोरमा समेत उपलब्ध हुनेछ ।
स्लास टेक्नोलोजीले तयार पारेको ब्लू बस एपबाट बस कहाँ आइपुगेको छ ? कति खेर आइपुग्छ ? थाहा पाउन सकिने छ ।
बसमा लोकेसन अनाउन्समेन्ट सिस्टम समेत जडान गरिएको छ । यस सिस्टमले यात्रामा रहँदा आइपुगेको र आउँदै गरेको स्टेशनको बारेमा जानकारी दिने कार्कीको भनाइ छ । स्लास प्लस टेक्नोलोजी आफैले विकास (हार्डवेयर र सफ्टवेयर) गरेको लोकेसन अनाउन्समेन्ट सिस्टम देशका अन्य बसमा समेत सफलतापूर्व सञ्चालन भइरहेको छ ।
महिलाहरूका लागि निःशुल्क सञ्चालनमा आएको ब्लु बसमा अटोमेटेड स्यानिटाइजर डिस्पेन्सर पनि राखिएको छ । यसमा हात राखेपछि आफै स्यानिटाइजर आउँछ । यसका लागि आवश्यक पर्ने हार्डवेयर र सफ्टवेयर पनि स्लास आफैले तयार पारेको हो ।
सार्वजनिक बसमा यात्रा गर्दा ओर्लने ठाउँको आफै कराउनु पर्ने अवस्था छ । तर ब्लू बसमा अब यात्रा गर्दा म ओर्लन्छु गाडी रोक्नुस भनेर कराउनु पर्ने छैन् । किनकी बसमा भएको स्मार्ट बेल प्रविधि थिच्ने बित्तिकै गाडी चालकले बस रोक्ने छन् । यात्रुलाई सहज हुने गरी बसभित्र ठाउँ ठाउँमा बेल राखिएको छ । बसमा लेटर बक्स समेत राखिएको छ । सो बक्समा लामिछानेका लागि सुझाव वा समस्या छोड्न सकिने छ ।
यस बाहेक चितवनमा रवि लामिछानेले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्समा पनि स्ल्यास प्लसले नै जीपीएस राखेको छ ।
विगत ८ वर्षदेखि नेपालको यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन स्लास प्लसले काम गर्दै आएको छ । कम्पनीले केही समय अगाडि साझा यातायातका लागि 'साझा प्लस' एप समेत तयार पारेको थियो । साझा प्लसबाट पनि साझाका गाडीका कहाँ कहाँ गुडिरहेका छन्, आफु भएको ठाउँमा आउँछन् की आउँदैनन् भनेर थाहा पाउन सकिन्छ ।
फरक फरक यातायातका लागि फरक फरक एपभन्दा पनि अब सबै यातायातका लागि एकीकृत प्लेटफर्मको रूपमा एउटै एप ल्याउने कार्कीले जानकारी दिए ।
'हामी अब यात्रुको सहजताका लागि एउटै एप ल्याउने तयारीमा छौं,' उनी भन्छन, 'देशभरका बस कहाँ आइपुगे ? कहाँ आउँदैछन् ? आफु भएको ठाउँमा कुन बेला आइपुग्छन् ? सबै जानकारी एउटै एपबाटै लिन सकिने छ ।'