कीवर्डहरू -

२१ औं वर्षमा आईटी कम्पनी इन्फोडेभलपर्स, वित्तीय क्षेत्रमा ६० प्रतिशत बजार हिस्सा

२१ औं वर्षमा आईटी कम्पनी इन्फोडेभलपर्स, वित्तीय क्षेत्रमा ६० प्रतिशत बजार हिस्सा

स्वदेशी सफ्टवेयर कम्पनीको नाम लिँदा अग्रपंक्तिमै आउने एउटा नाम हो, इन्फोडेभलपर्स । दुई दशकदेखि नेपालको वित्तीय क्षेत्रलाई डिजिटाइज गर्न लागिरहेको छ ।नेपालको सहकारी, लघुवित्त लगायत वित्तीय क्षेत्रलाई डिजिटल युगमा लैजान उल्लेखनीय भूमिका खेलेको इन्फोडेभलपर्स आज २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ ।

अनेकौं आरोह अवरोह पार गर्दै इन्फोडेभलपर्स यहाँसम्म आइपुगेको छ । एउटा कोठाबाट सुरू भएको कम्पनीले अहिले आफ्नै भवनबाट सेवा प्रदान गरिरहेको छ । लाखौं मानिसलाई डिजिटल सेवासँग जोडेको छ । ग्राहकको अमूल्य समय बचत गर्दै सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन हरदम तत्पर छ ।

निरन्तरको परिश्रमले दुई दशकको यात्रा तय गरेको इन्फोडेभलपर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले बताए । ‘२ दशकको यात्रामा सजिला दिन पनि आए, अप्ठ्यार दिन पनि आय । हामी निरन्तर परिश्रम गर्दै गयौं,’ उनले आइसिटी समाचारसँग भने, ‘यो यात्रामा हामी सन्तुष्ट छौं । २ दशकको यात्रा हाम्रो सुरूवात मात्रै हो । अझै धेरै काम गर्नुछ ।’

सुरुवाती दिनमा सहकारी तथा माइक्रोफाइनान्सलाई प्राथमिकतामा राखेर काम गरेको कम्पनीले पछिल्लो समय आफ्नो दायरा फराकिलो बनाउँदै गइरहेको छ र वित्तीय क्षेत्रलाई आवश्यक पर्ने प्रविधि निर्माणमा केन्द्रित छ ।

लोभलाग्दो बैंकको जागिर छोडेर आफ्नै कम्पनी

आजभन्दा २ दशक अघि उमेश रघुवंशी राष्ट्रिय वाणिज्य बैंकमा जागिर खाइरहेका थिए । त्यो बेला बैंकको सेवा सुविधा राम्रै थियो । तर रघुवंशीको मनमा आफ्नै केही गर्ने हुटहुटी थियो । त्यो हुटहुटीले उनी धेरै समय बैंकको जागिरमा रमाउन सकेनन् । अनि उमेश रघुवंशीले आफ्नो कोठाबाट ६५ हजारको कम्प्युटरसहित इन्फोडेभलपर्सको यात्रा तय गरेका थिए । केही समयपछि टिममा प्रविन सुवेदी र अर्विन्द प्रधान समेत जोडिए ।

हाल कम्पनीले सहकारीदेखि बैंकसम्म डिजिटल सेवा प्रदान गरिरहेको छ । सुरूमा कम्पनीले औषधि व्यवसायका लागि अकाउन्टिङ सफ्टवेयर फ्रर्मा प्रो तयार पारेको थियो । उक्त सफ्टवेयरले सोचे जति सफलता पाउन सकेन । त्यसले एउटा अनुभव दियो । अनि कम्पनीको यात्रा मोडियो ।

फर्मा प्रोको असफलता पछि इन्फोडेभलपर्सले सहकारीका लागि फिनसिस सफ्टवेयर बजारमा ल्यायो । फिनसिसको सफलताले अरू बैंकिङ सोलुसन विकास गर्ने ऊर्जा पाएको रघुवंशी बताउँछन् ।

फिनसिसको सफलतासँगै कम्पनी आर्थिक रूपमा पनि मजबुत हुन थाल्यो । आवश्यक प्रोग्रामरहरू पनि राख्न थालियो । फिनसिसको सफलतापछि कम्पनी कहिले पछाडि फर्कनु परेन, सफलताको पथमा लम्किरह्यो ।

कम्पनीका टिम मेम्बरको मिमिनेतपछि कम्पनी सफलताको यात्रामा विस्तारै लम्कँदै गएको उनले बताए । अगाडि भन्छन्, ‘सम्पूर्ण टिमको अथक परिश्रम र मिहेनतले इन्फोडेभलपर्स सफल भएको छ । टिमवर्क बिना यो सम्भव थिएन ।’

\"\"
सीईओ, उमेश रघुवंशी

इन्फोडेभलपर्सका हाल ८ वटा महत्वपूर्ण प्रडक्टहरू बजारमा छन् । मोबाइल बैंकिङ सेवा, इन्फो ट्याब (ब्रान्चलेस बैंकिङ), वित्तीय सेवा, इन्फिनिटी, एमडबली, इम्पावर, वेल्थ प्रो लगायतका प्रडक्टहरूले नेपालको वित्तीय क्षेत्रलाई प्रविधिमैत्री बनाएको छ ।

कम्पनीले बनाएका सफ्टवेयर सहकारी, लघुवित्त, पुँजी बजार, बैंक लगायतका प्रयोग भइरहेको छ । केही समय अगाडि मर्कन्टाइलको कोर बैंकिङ सोलुसन पुमोरी पनि इन्फोडेभलपर्समा मर्ज भएको थियो । वित्तीय क्षेत्रमा अझै सशक्त भएर लाग्न पुमोरीले सघाएको रघुवंशीको अनुभव छ ।

३५० बढीलाई रोजगारी, वित्तीय क्षेत्रमा ६० प्रतिशत बजार हिस्सा

इन्फोडेभलपर्स स्वदेशमा मात्रै सिमित चैन् । भारत, भुटान र अमेरिकामा समेत सेवा विस्तार गरेको छ । १ जनाबाट सुरू भएको कम्पनीमा अहिले ३५० बढीले रोजगारी पाएका छन् ।

कम्पनीले सफ्टवेयर निर्माण मात्र नभएर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका लागि एकीकृत सोलुसन र अन्य सेवा समेत प्रदान गर्दै आएको छ । १३ सय सहकारी, १२ लघुवित्त, ३ वाणिज्य बैंक, सबै विकास बैंक, ९५ प्रतिशत फाइनान्स कम्पनी र पूँजी बजार लगायतका कम्पनीमा इन्फोडेभलपर्सका सफ्टवेयर प्रयोग भइरहेका छन् । यसबाट लाखौं प्रयोगकर्ता डिजिटल प्रविधिको युगमा जोडिएका छन् ।

इन्फोडेभलपर्सका प्रडक्ट नेपालको ६० प्रतिशत वित्तीय क्षेत्रमा प्रयोग भइरहेको छ । नेपालको वित्तीय क्षेत्रमा ६० प्रतिशत बजार हिस्सा रहेको रघुवंशीको भनाइ छ । ‘हामीले वित्तीय क्षेत्रको ६० प्रतिशत बजार होल्ड गरेका छौं,’ उनी भन्छन्, ‘यो बजार हिस्सालाई यथास्थितिमा राख्ने र बढाउनेमा अवसर तथा चुनौती दुवै छन् । हामी गुणस्तरीय सेवाका लागि निरन्तर काम गरिरहेका छौं ।’

आईएसओ सर्टिफाइड प्राप्त कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अवार्डबाट सम्मानित भइसकेको छ । ख्यातिप्राप्त अन्तराष्ट्रिय संस्था एसोसिओले सन् २०१६ मा आउटस्ट्याण्डिङ आइसिटी कम्पनी अवार्डबाट कम्पनीलाई म्यानमारमा सम्मान गरेको थियो । यसका साथै नेपाल चेम्बर अफ कमर्सबाट ‘बेस्ट इन्नोभेटिभ आईसीटी कम्पनी २०१६’ र सन् २०१७ मा क्यान फेडेरेसन ‘बेस्ट आईसीटी युजर्स अवार्ड’ पनि प्राप्त गरेको थियो ।

विश्वस्तरीय बैंकिङ सोलुसन बनाउने योजना

पुमोरीलाई मर्ज गरेपछि इन्फोडेभलपर्स आक्रामक रूपमा अगाडि बढ्दै छ । यो वर्ष कम्पनीले नयाँ बैंकिङ सोलुसन बनाउने योजना बनाएको छ । यो वर्ष विश्वस्तरीय बैंकिङ सोलुसनमा काम गर्ने इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशीले बताए ।

‘यो वर्ष हामी विश्वस्तरीय बैंकिङ सोलुसन विकासमा केन्द्रित हुन्छौं,’ उनले भने, ‘उक्त प्रडक्ट तयार भएपछि विश्वका राम्रा कहिलिएका बैंकिङ सोलुसनसँग प्रतिस्पर्धा गर्छौं । नेपालबाट पनि विश्वस्तरीय प्रडक्ट बन्न सक्छ भन्ने सन्देश दिन्छौं ।’

नेपालमा जति पनि सूचना प्रविधिको विकास भएको छ त्यसमा निजी क्षेत्रको योगदान छ । नेपालमा पनि विश्वस्तरीय प्रडक्ट र जनशक्ति छन् । तर नेपाली प्रडक्टलाई ‘हेय’को दृष्टिकोणले हेर्दा समस्या सिर्जना भइरहेको छ । भर्खरै सर्वांगीन विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गरेको एक अध्ययनमा नेपालमै बसेर विदेशीको आईटीको काम गरी ६७ अर्ब बढी कमाएको देखिएको छ ।

नेपालको अर्थतन्त्रमा आईटीको योगदान बढाउन सरकारले स्वदेशी कम्पनीको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने रघुवंशीको भनाइ छ । ‘सरकारले आईटीको इकोसिस्टम बलियो बनाउन पहल गर्नु पर्छ । नेपालमा विदेशी मुद्रा भित्र्याउन सक्ने एउटा राम्रो क्षेत्र आईटी हो,’ रघुवंशीले भने, ‘आईटी क्षेत्रको विकासका लागि सरकार र निजी संस्थाले स्वदेशी प्रडक्ट प्रयोग गर्नुपर्छ । विश्वास गर्नुपर्छ ।’

कुनै बेला विदेशी सफ्टवेयरहरुको दवदवा रहेको नेपालमा स्वदेशी प्रडक्टमा विश्वास दिलाउन कम्पनीको प्रयास र भुमिका महत्वपूर्ण छ । तर पनि अझै गर्नुपर्ने काम धेरै बाँकी छ । यस बाहेक कम्पनीले आफ्ना प्रडक्टलाई अझै परिस्कृत गर्ने र आउटसोर्सिङमा पनि हात हाल्ने योजना बनाएको छ ।