नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवा ९ वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गरेको छ । आजभन्दा ९ वर्ष अगाडि अनलाइनबाटै रियलटाइम बसको टिकट उपलब्ध गराउने गरी बससेवाको सुरूवात भएको थियो ।
सुरूवाती समयमा बसको टिकट काट्ने चलन एकदमै कम भएपनि पछिल्लो समय भने अनलानबाटै बसको टिकट काट्नेको जमात बढ्दो छ । बसको टिकट काट्न काउन्टरसम्म गएर लाइन लाग्नुपर्ने झन्झट बससेवाले अन्त्य गरिदिएको छ । नेपालमा अनलाइन बस टिकेटिङ सुरू गर्ने श्रेय बससेवालाई नै जान्छ ।
बससेवाको वेबसाइट र मोबाइल एपबाट देशभरका सार्वजनिक यातायातको टिकट काट्न सकिने बससेवाले जनाएको छ । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन्, जसबाट १ सय ८० वटा बस कम्पनीका ३५ हजार सिट बुक गर्न सकिन्छ ।
३५ हजार सिटी भएपनि हाल दैनिक करिब ३ हजार मात्रै सिट बुकिङ हुँदै आएका छन् । यात्रुहरुले बससेवाबाट टिकट काटी इसेवा, खल्ती, आइएमईपे लगायतका वालेटका साथै हरेक बैंकका मोबाईल र्बैकिङ्ग मार्फत समेत टिकटको पैसा तिर्न कम्पनीले जानकारी दिएको छ ।