कीवर्डहरू -

एनसेलले भन्योः टेरामक्स बारे प्राविधिक अध्ययन गर्दै छौं, कानुनविपरित ग्राहकको डेटा कसैलाई दिदैनौं

एनसेलले भन्योः टेरामक्स बारे प्राविधिक अध्ययन गर्दै छौं, कानुनविपरित ग्राहकको डेटा कसैलाई दिदैनौं

एनसेलले एक विज्ञपित जारी गर्दै आफू विरुद्ध लेखिएको भ्रामक समाचारलाई खण्डित गरेको छ । एनसेलले एक राष्ट्रिय दैनिक पत्रिका र सोही पत्रिकाको अनलाइन न्युज पोर्टलमा बिहीबार (साउन २५) ‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ शीर्षकमा प्रकाशित समाचारको खण्डन र घोर भर्त्सना गरेको बताएको छ । यो समाचारले नेपाली जनतालाई भ्रममा पार्न तथ्यलाई गलत ढंगले व्याख्या गरेको कम्पनीको दावी छ ।

कम्पनीको प्रतिष्ठामा आँच पुर्याउने गम्भीर प्रयास भएको र केही सीमित समूहको निहित स्वार्थ पूरा गर्न कम्पनीलाई सिकार बनाइएको एनसेलको विश्वास छ । एनसेलले विज्ञप्तिमार्फत झुटा, आधारहीन, भ्रामक र असन्तुलित समाचारबाट भ्रममा नपर्न अनुरोध समेत गरेको छ ।

कम्पनीले ग्राहकहरूका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकतामा राखेको प्रतिबद्धता पनि जनाएको छ । समाचारमा भ्रामक कुरा उल्लेख भएता पनि एनसेलले ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति नदिएको उल्लेख गरेको छ । कम्पनीले कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न असहमत रहेको पनि ठहर गरेको छ ।

समाचारमा उल्लेख भएको कुरालाई खण्डन गर्दै एनसेलले आफ्नो सिस्टमलाई समाचारमा उल्लेख भएझैं टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)सँग नजोडेको दावी गरेको छ ।

कम्पनीले टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेको विज्ञप्तिमा उल्लेख छ । यो प्रविधिबारे स्पष्ट नभएसम्म एनसेलले सिस्टम इन्टिग्रेट नगर्ने र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई नदिने बताएको छ ।