रुसले सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । इन्टरफ्याक्स न्युज एजेन्सीका अनुसार रुसको डिजिटल विकास मन्त्रालयले एप्पलका अन्य उत्पादन आइबुक, ट्याबलेट प्रयोगमा पनि रोक लगाएको छ । यी डिभाइसबाट सरकारी काम गर्न नसकिने हुँदा प्रतिबन्ध लगाइएको हो ।
संघीय सुरक्षा सेवा (एफएसबी)ले एप्पलका डिभाइसमार्फत अमेरिकाले रुसको जासुसी गरेको आरोप लगाएको छ । दुई महिनाअघि एफएसबीले अमेरिकाले हजारौँ आइफोन ह्याक गरेको दाबी गर्दै अमेरिकी ह्याकरले जासुसी अभियानमा इजरायल, सिरिया, चीन र नेटो सदस्यका डिप्लोम्याट (कूटनीतिज्ञ)लाई निसाना बनाएको बताएको थियो ।
एफएसबीले केही स्थानीय रुसी व्यक्ति र सोभियतको संघको हिस्सा रहेका केही देशमा काम गरिरहेका कूटनीतिज्ञको फोन ह्याक गरेको दाबी गरेको छ । अमेरिकाको विशेष सेवाले यो काम गरेको उसको भनाइ छ । यस्तै, एफएसबीले अमेरिकी नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) र एप्पलबीच नजिकको सम्बन्ध रहेकोसमेत दाबी गरेको थियो ।
यता, एप्पल कम्पनीले भने आफूले त्यस्तो केही नगरेको बताएको छ । आफूले कुनै देशको सरकारसँग मिलेर फोनमा तलमाथि नगरेको र आइन्दा पनि नगर्ने बताएको छ । यद्यपि, एफएसबीले यसबारे कुनै प्रमाण भने दिएको छैन ।
एनएसएले यसबारेमा कुनै स्पष्टीकरण दिन अस्वीकार गरेको छ ।
मस्कोस्थित क्यास्पस्र्की ल्याब कम्पनीले अपरेसनमार्फत आफ्ना कैयौँ कर्मचारीको डिभाइससँग छेडखानी गरेको बताएको छ । र, यसको पहिलो प्रमाण सन् २०१९ मा भेटिएको बताएको छ ।
अधिकारीलाई आइफोन प्रयोग नगर्न निर्देशन एफएसबीको रिपोर्टपछि रुसी विदेश मन्त्रालयले अमेरिकामा बनेका आइफोन विश्वास गर्न योग्य नभएको भन्दै सरकारी अधिकारीलाई आइफोन प्रयोग नगर्न निर्देशन दिएको छ ।