काठमाडौँ । थापाथली, काठमाडौँस्थित द ब्रिटिश कलेजले आयोजना गरेको एकदिने रोजगार मेला सम्पन्न भएको छ । कलेजमा अध्ययनरत् तथा कलेजबाट अध्ययन सकाएका विद्यार्थीहरूको लागि आयोजना गरिएको मेलामा १५ रोजगारदाता कम्पनीहरू सहभागि थिए ।
शुक्रबार आयोजित मेलाले विद्यार्थीहरूलाई व्यवसायीक क्षेत्रमा अवसर खोज्न र आफ्नो क्षमता परीक्षण गर्न सघाउ पुर्याएको कलेजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सिर्जनशीलता र अन्वेषणको संस्कृतिलाई मलजल गर्दै विकास र समृद्धिको युगमा विद्यार्थीमा व्यवसायिकताको विकास गर्नु रोजगार मेलाको उद्देश्य रहेको जनाइएको छ ।
यस्ता इभेन्टहरूको आयोजनाले रोजगारदाता कम्पनी र विद्यार्थीहरूबीचको दूरी घटाउने कार्यक्रम संयोजक विक्रम थापाले बताए । त्यस्तै कलेजका प्रिन्सिपल जोय फोस्टर एलिसले यस्ता कार्यक्रमहरूको विद्यार्थीहरूमा सकारत्मक उर्जा प्रदान गर्ने विश्वास प्रकट गरे ।
त्यस्तै मेरोजब डटकमका प्रबन्ध निर्देशक शैलेन्द्र गिरीले बेरोजगारीको समस्या समाधानको लागि रोजगारदाता कम्पनी र विद्यार्थीबीच सहजीकरण गर्नु आफुहरूको उद्देश्य रहेको जानकारी दिए । रोजगारदाता कम्पनीले सधैँ उर्जावान र सिर्जनशील जनशक्तिको खोजी गर्ने उनको भनाई थियो ।
कलेजले गत हप्ता मात्रै विद्यार्थीहरूको लागि बायोडाटा र आवेदनपत्र लेखन कार्यशाला समेत चलाएको थियो । मेरोजब डटकमसँगको सहकार्यमा चलाइएको उक्त कार्यशालामा विद्यार्थीलाई सिर्जनात्मक सोचका साथ अन्तर्वार्ताको सामना गर्न र सञ्चारसीपको विकास गर्न समेत सिकाइएको थियो ।
सोही कार्यशालाकै निरन्तरता स्वरूप रोजगार मेलाको आयोजना गरिएको हो । मेलामा ब्रेनडिजिट, क्लाउड फ्याक्ट्री, प्रिमियिर इन्सुरेन्स, क्लासिक टेक, आईएमएस ग्रुप, आइटोनिक्स नेपाल, सिप्रदी ट्रेडिङ, भेरिस्क नेपाल, पेप्सी, चौधरी ग्रुप लगायतका रोजगारदाता कम्पनीहरू सहभागि थिए ।