कीवर्डहरू -

नेपाल टेलिकमको त्रैमासिक नाफामा कमी 

नेपाल टेलिकमको त्रैमासिक नाफामा कमी 

नेपाल दुरसञ्चार कम्पनी अर्थात नेपाल टेलिकम (एनटीसी) ले गत आर्थिक वर्ष २०७९/०८० को अन्तिम अर्थात् आफ्नो चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्ष (आव) को सोही अवधिको तुलनामा आफ्नो खुद नाफासँगै आम्दानी आम्दानी पनि घटेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी पनि घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँमा झरेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर ४३ रुपैयाँ ३६ पैसामा सीमित भएको हो ।

त्यस्तै, असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २० दशमलव ९२ गुणा रहेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८ दशमलव १३ रहेको थियो ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ रहेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।