कीवर्डहरू -

दाङको राजपुर मुसिनाकामा टेलिकम सेवा विस्तार हुने

दाङको राजपुर मुसिनाकामा टेलिकम सेवा विस्तार हुने

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ जिल्लाको विकट क्षेत्रका रुपमा रहेको राजपुरको मुसिनाकामा टेलिकम सेवा विस्तारको तयारी भइरहेको बताएकी छिन् । प्रेस सेन्टर दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

मन्त्री शर्माले सरकार सुशासनमा केन्द्रीत रहेको बताइन् । उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताइन् ।

भ्रष्टचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिइन् । उनले भनिन्, “सरकारले सुन तस्करी, भुटानी शरणनार्थीलगायत अन्य भ्रष्टचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग आवश्यक छ ।”

सरकारका प्रवक्ता मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गरिन् । “भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ”, उनले भनिन्, “प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ। अनुसन्धान निष्कर्षमा पुर्याउने छौँ ।”

मन्त्री शर्माले अर्थतन्त्रमा आएको गिरावटका कारण दाङमा पूर्वाधार विकासका क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न नसकिएको भन्दै सामाजिक सञ्जाल नियमनका लागि कानूबमोजिम निर्देशिका तयार गरिरहेको समेत बताएकी छन् ।