कीवर्डहरू -

नाफा घटेपछि नेपाल टेलिकमको स्पष्टिकरणः “ट्यारिफ परिमार्जन, फोरजी विस्तारसँगै सस्तो डेटा प्याकेजका कारण आम्दानी घट्यो”

नाफा घटेपछि नेपाल टेलिकमको स्पष्टिकरणः “ट्यारिफ परिमार्जन, फोरजी विस्तारसँगै सस्तो डेटा प्याकेजका कारण आम्दानी घट्यो”

नेपाल दूरसञ्चार कम्पनी अर्थात नेपाल टेलिकमले दूरसञ्चार सेवा तर्फको आफ्नो आम्दानी घटेको विषयमा स्पष्टीकरण दिएको छ । गत आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण सार्वजनिक गरेसँगै कम्पनीले दूरसञ्चार सेवाबापतको आम्दानी र नाफा घट्नुको कारण पेश गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा सेवा सञ्चालनसँग प्रत्यक्ष रूपमा सम्बन्धित खर्च वृद्धि भएको र देशभित्रको अन्तरआवद्धता (ट्यारिफ) शुल्कमा भएको परिमार्जन, कम्पनीले देशभर फोरजी सेवा विस्तारसँगै डेटाको पहुँच वृद्धि भएको र सस्तो दरका डेटा प्याकेज बढ्दै गएका कारण ओटीटी सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्र्तआवद्धता आयमा ६८ करोड ३७ लाख रुपैयाँले कमी भएको उल्लेख गरेको छ ।

त्यस्तै प्रतिकूल मौसमको असरले गर्दा विद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकाले साइटहरू समयमै सञ्चालन हुन नसक्दा र आर्थिक ऐन २०७९ मार्फत परिवर्तन गरिएको दूरसञ्चार सेवा दस्तुरका कारण समेत राजस्वमा तुलनात्मक रूपले कमी आएको टेलिकमको भनाई छ ।

यसका साथै क्षमता अभिवृद्धिका कार्यक्रम र गत वर्ष कर्मचारीको तलबमा भएको वृद्धिका कारण यस वर्ष कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएको छ । त्यस्तै विभिन्न निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत,स्थानान्तरण तथा नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापनका कार्यबाट समेत कम्पनीको सेवा प्रवाह गर्ने कार्यमा प्रभाव परेकाले पनि आम्दानी घट्न पुगेको कम्पनीले उल्लेख गरेको छ ।

लागत बढी तथा प्रतिफल कम हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र त्यसले गर्दा लागत समेत बढिरहेको कम्पनीले जनाएको छ ।