कीवर्डहरू -

इन आवर ह्याण्ड्स्द्वारा अनुसन्धान र विकास अनुदानका लागि आवेदन खुला

इन आवर ह्याण्ड्स्द्वारा अनुसन्धान र विकास अनुदानका लागि आवेदन खुला

ब्रिटिस काउन्सिलको कल्चर रेस्पण्ड्स कार्यक्रम अन्तर्गत इन आवर ह्याण्ड्स (आफ्नै हातमा) ले अनुसन्धान र विकास अनुदानका लागि आवेदन खुला गरेको छ । कला र संस्कृतिका माध्यमबाट जलवायु परिवर्तनका चुनौतीको सामना गर्ने परियोजनाका लागि सो अनुसन्धान र विकास अनुदान दिइने छ ।

ब्रिटिस काउन्सिलका अनुसार इन आवर ह्याण्ड्स ले रचनात्मक हरित उद्यमशीलतालाई सहयोग गर्छ । युवा केन्द्रित यो कार्यक्रमले समावेशी विकासको अवधारणा अघि सारेको छ । इन आवर ह्याण्ड्स ले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाका क्षेत्रमा आधारित अवसर खोज्न र उपयोग गर्न युवा उद्यमीलाई सहयोग गरिरहेको छ ।

सहभागीहरूले अनुदानका लागि विभिन्न चरण पार गर्नुपर्ने हुन्छ । यस कार्यक्रमको अवधि आठ महिना लामो हुने जनाइएको छ । ब्रिटिस काउन्सिलका अनुसार दिगो र प्रयोगमा ल्याउन योग्य १० वटा अवधारणालाई अनुसन्धान अनुदान र छ वटालाई विकास अनुदान प्रदान गरिनेछ ।

कार्यक्रमको कार्यान्वयन क्रममा विभिन्न क्षेत्रका विज्ञहरूको ज्ञान, सीप र अनुभवको उपयोग गरिने छ । यसमा ब्रिटिस काउन्सिलको क्राफ्ट टुलकिट एप्लिकेसनको समेत उपयोग गरिने जनाइएको छ । तसर्थः यस वर्ष अनुदानका लागि चयन नभएको खण्डमा समेत प्रमाणपत्र र शैक्षिक लाभ पाउन सक्नेछन् ।

काउन्सिलका अनुसार आवेदनका लागि एक महिनाको अवधि तोकिएको छ । भदौ २४ गते राति ११ः ५९ बजेसम्म आवेदन भर्न सकिने जनाइएको छ ।

काठमाडौँ विश्वविद्यालय र एडिनवर नेपियर विश्वविद्यालयको रचनात्मक प्राज्ञिक सहायता र स्टोरी साइकल, नेपाल आर्ट भिलेज र एप्लाइड आर्ट्सको क्षेत्रगत साझेदारीमा इन आवर ह्याण्ड्स ले अनुसन्धान र विकास अनुदानका कार्यक्रम मार्फत प्राप्त हुने सिकाइ, शिक्षा र मार्गनिर्देशनले रचनात्मक उद्यममा नयाँ दृष्टिकोण प्राप्त हुने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तनले पारेका प्रभाव न्यूनीकरणमा समेत यसले नयाँ आयाम थप्न सक्ने अपेक्षा कार्यक्रमको छ । यसले जलवायु परिवर्तन र समावेशी विकास सम्बन्धी नेपालको कार्यसूचीमा युवाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्भ न्ने विषयलाई समेत थप पुष्टि गर्ने छ । यस कार्यक्रमले जलवायु परिवर्तनको प्रभाव हुनबाट जोगाई सन् २०४५ सम्ममा नेपाललाई मध्य आय भएको देश बनाउने लक्ष्य प्राप्तिमा सघाउने छ ।

ब्रिटिस काउन्सिलका कार्यकारी निर्देशक सगुन श्रेष्ठकाअनुसार इन आवर ह्याण्डसले समुदाय र सम्पदामा आधारित युवाको रचनात्मक परियोजनालाई अघि बढाउँछ । दिगो र सफल व्यावसायिक अवधारणाका रूपमा अघि बढाउँछ । रचनात्मक क्षेत्रमा काम गर्न रुचाउने युवाका लागि यो अवसर समेत हो ।

यस परियोजनाका साझेदार स्टोरी साइकलका सह संचालक सौरभ ढकालले नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदा, सीप र रैथाने ज्ञानलाई प्रविधि र प्राविधिक ज्ञानको माध्यमबाट दिगो व्यावसायिक अवधारणा विकासमा यस कार्यक्रमले सहयोग पुर्‍याउने बताए । उनले प्रकृति, सम्पदा र संस्कृतिमैत्री यस्ता अवधारणाले दिगो पर्यावरणमैत्री विकासमा सहयोग पुग्ने अपेक्षा रहेको जिकिर गरे ।