कीवर्डहरू -

एक वर्षमा साढे ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

एक वर्षमा साढे ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । प्रविधिको विकाससँगै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर लगायत प्रणालीबाट हुने कारोबार बढ्न थालेको हो ।

राष्ट्र बैंकअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड नाघेको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० असारको मासिक भुक्तानी प्रणाली सूचक अनुसार नेपालमा मोबाइल बैंकिङका प्रयोगकर्ता २ करोड १३ लाख ६३ हजार ९८९ जना छन् ।

गत वर्ष २०७९ को असारमा मोबाइल बैंकिङका प्रयोगकर्ता १ करोड ८३ लाख ७ हजार २५५ थिए भने एक वर्षको अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता ३० लाख ५६ हजार ७४६ अर्थात १६ दशमलव ६६ प्रतिशतले बढेको तथ्यांक रहेको छ ।

मोबाइल बैंकिङका प्रयोगकर्ता बढेसँगै कारोबार संख्या र भुक्तानी रकम पनि बढेको छ ।
२०७९ असारमा २ करोड ५ लाख ६४ हजार ३०४ पटक मोबाइल बैंकिङबाट कारोबार भएकोमा २०८० असारमा २ करोड ८९ लाख ३ हजार ८७२ पटक कारोबार भएको छ ।

यस्तै २०७९ असारमा मोबाइल बैंकिङबाट १ खर्ब ६३ अर्ब २५ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएकोमा २०८० असारमा २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ ।