कीवर्डहरू -

आइसिटी अवार्डको ३ विधामा आवेदन दिने अन्तिम दिन बिहीबारसम्म, यसरी दिनुहोस् अनलाइन आवेदन ?

आइसिटी अवार्डको ३ विधामा आवेदन दिने अन्तिम दिन बिहीबारसम्म, यसरी दिनुहोस् अनलाइन आवेदन ?

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ३ विधामा बिहीबार रातीसम्म अनलाइन नोमिनेसन (आवेदन) बुझाउन सकिने भएको छ ।

आठौं संस्करणको आइसिटी अवार्डमा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा  भदौ १४ गते राती १२ बजेसम्म आवेदन दिन सकिने भएको हो ।

यस बाहेक आन्ट्रप्रेनर, नेपाली डायस्पोरा, डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल सर्भिसेस (पब्लिक सेक्टर), डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर), प्रोफेसनल, वुमन आइकन विधामा भदौको अन्त्यसम्म आवेदन दिन सकिने आयोजक संस्था लिभिङ विथ आइसिटीले जनाएको छ ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डमा विभिन्न संस्थाहरूको सहकार्य रहने छ । यसै वर्ष आइटी प्रोफेसनलहरुलाई लक्षित गरेर प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२३ विधा समेत थप गरिएको छ ।

सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन’ पनि सुरु गरेको छ ।

सातै प्रदेश र काठमाडौंमा प्रि-इभेन्टको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि सञ्चालन हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यसैगरी स्टार्टअप, आइडिया र इन्नोभेसनको पिचिङ सहित छनौट प्रकृयालाई कान्तिपुर टेलिभिजनमार्फत पनि विशेष एपिशोड प्रशारण गरिने आयोजकले जनाएको छ ।

आइसिटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकको दाबी रहेको छ । भदौ तेस्रो हप्तादेखि सञ्चालन हुने अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितीको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन ।

जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरु सहित १४ जना विज्ञ रहेका छन भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यत्तिहरु रहेका छन । साउथ एसिया स्टार्टअप अवार्डको लागि भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका लगायतका देशहरुबाट विज्ञ जुरी समिति मार्फत छनौट प्रकृया सञ्चालन गरिने छ ।
आवेदन दर्ताको लागि आधिकारिक वेबसाइट https://ictaward.org मार्फत विवरण बुझाउन सकिन्छ ।

आफु स्वंम वा अन्य कोहिले सम्वन्धित व्यत्ति, कम्पनी वा सस्थाको सम्पुर्ण विवरण उल्लेख गरेर नोमिनेशन दर्ता गर्न सकिनेछ ।

यी हुन आइसिटी अवार्ड २०२३ का १३ विधाहरु

आइसिटी अवार्ड २०२३ मा १३ विधामा अनलाइन नोमिनेशन खुल्ला गरिएको छ । नोमिनेशन दर्ता गर्न आधिकारिक वेबसाइट बउउथि।ष्अतबधबचम।यचन मा गएर लगइन गरेर विधा (क्याटेगोरी) छनौट गरी आवश्यक विवरण उल्लेख गरी अनलाइन फारम बुझाउनुपर्नेछ । नोमिनेसनको अन्तिम मिति यहि साउन ३१ गते रहको छ ।

१. स्टार्टअप आइसिटी अवार्ड

आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।

२. प्रडक्ट आइसिटी अवार्ड

आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह  वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ । वि.स २०७९ सालमा सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

३. राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाहरुको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इन्नोभेसन तथा प्रडक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ ।

४. प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड

यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड विधामा आइसिटी क्षेत्रसँग सम्वन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपुर्ण योगदान, विशेष कामको आधारमा आइसिटी प्रोफेसनलहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।

५. पायोनियर आइसिटी अवार्ड

यो अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । यस विधामा नोमिनेशन दर्ता गर्न यस क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव आवश्यक पर्दछ ।

६. नेपाली डायस्पोरा आइसिटी अवार्ड

नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आइसिटीको माध्यमबाट देश र यस क्षेत्रमा पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ ।

७. आन्टरप्रेनर आइसिटी अवार्ड

आन्टरप्रेनर आइसिटी अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । नोमिनेशनको लागि आइसिटी उद्यमीको रुपमा कम्तिमा ७ वर्षको अनुभव आवश्यक रहेको छ ।

८. वुमन आइकन आइसिटी अवार्ड

वुमन आइकन आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आइसिटीको क्षेत्रमा उदाहरणिय काम गर्नुभएको महिलाहरुले नोमिनेसन दर्ता गर्न सक्नुहुनेछ ।

९. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर)

डिजिटल एजुकेशन आइसिटी अवार्ड, आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।

१०. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)

डिजिटल एजुकेशन आइसिटी अवार्ड आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका नीजि शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।

११. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड

यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन ।

१२. डिजिटल सर्भिसेस आइसिटी अवार्ड

यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइन मार्फत सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन ।

१३. साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड

यस विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका, मालदिभ्श, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरुले सहभागिता जनाउन सक्नेछन । ५ वर्षसम्मका स्टार्टअपहरुले यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ ।