कीवर्डहरू -

भदौ २२ र २३ गते वर्डक्याम्प काठमाडौं हुँदै

भदौ २२ र २३ गते वर्डक्याम्प काठमाडौं हुँदै

आगामी भदौ २२ र २३ गते वर्डक्याम्प काठमाडौं आयोजना हुने भएको छ । वर्डप्रेस नेपाल कम्युनिटीले वर्डप्रेसको इकोसिस्टम बलियो बनाउन र यस बारे सबैलाई जानकारी दिन आउँदो शुक्रबार र शनिबार वर्डक्याम्प काठमाडौं २०२३ आयोजना हुन लागेको छ ।

कार्यक्रम काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा हुनेछ । २ दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न सेसनहरू हुनेछन । पहिलो दिन वर्डप्रेसको इकोसिस्टममा कसरी स्थापित हुने, नयाँ कुरा कसरी सिक्ने र अनुभव साटफेरमा केन्द्रित हुनेछ भने दोस्रो दिन सिक्ने चाहने र अनुभवी डेभलपरका लागि विभिन्न सेसनहरू राखिएको छ ।

यस पटक भदौ २२ गतेलाई ‘कन्ट्रिब्यूटर डे’ को रूपमा समेत मनाइने छ । त्यसले वर्डप्रेसलाई अझै मजबुत बनाउन सघाउने अपेक्षा गरिएको छ । वर्डक्याम्प काठमाडौं २०२३ ओपन सोर्स प्लेटफर्ममा जोडिन, अनुभव साटासाट गर्न र नेटवर्किङका लागि राम्रो प्लेटफर्म भएको वर्षप्रेस नेपाल कम्युनिटी संयोजक सुवास खड्काले जानकारी दिए ।

यस पटक २ वटा नयाँ कार्यक्रम समेत समावेश गरिएको छ, जसमा डब्लु चौतारी र चन्लुपी फोटो कन्टेस्ट हुन । डब्लपी चौतारीमा वर्डप्रेस सम्बन्धि जिज्ञास राख्न र वर्डप्रेसमा अनुभव भएका व्यक्तिहरूले अनुभव शेयर गर्ने छन ।

फोटो कन्टेस्ट अन्तर्गत वर्डक्याम्प काठमाडौं २०२३ मा सहभागी भएको फोटो #WCKTM ह्यासट्याग राखेर आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्ने २ जनाले विशेष पुरस्कार पाउने छन । एउटा टिम बनाएर उत्कृष्ट फोटोको छनौट गरिने छ ।

यस बाहेक कार्यक्रममा २ वटा विषयमा प्यानल सेसन हुनेछ । पहिलो सेसनमा सबै महिलाहरू वक्ता हुनेछन् भने अर्को सेसनमा वर्डप्रेसका व्यवसायिक उत्पादन (प्लगइन, थिम, मार्केटिङ, एसईओ) का विषयमा छलफल हुने जनाइएको छ ।

कार्यक्रममा ४५० बढी सहभागी हुनेछन । सहभागीताका लागि केही समय पहिले रजिष्ट्रेसन खुलाइएको थियो । अहिले रजिष्ट्रेसन बन्द भइसकेको छ । कम्युनिटीले वर्डप्रेस इकोसिस्टमलाई बलियो बनाउन कलेजमा गएर मिटअप गर्ने पनि तयारी गरेको छ ।

नेपालमा सन् २०१२ देखि वर्डक्याम्प हुँदै आएको छ । नेपालमा वर्डप्रेसको कम्युनिटी बलियो हुँदै गएपछि अहिले वर्डक्याम्प देशका प्रमुख शहरहरूमा भइरहेको छ । नेपालमा वर्डप्रेस कम्युनिटीमार्फत निस्वार्थ सेवाको रूपमा काम भइरहेको छ ।