कीवर्डहरू -

१८ वर्ष मुनिका बच्चाहरूले चीनमा दुई घण्टामात्रै स्मार्टफोन चलाउन पाउने

१८ वर्ष मुनिका बच्चाहरूले चीनमा दुई घण्टामात्रै स्मार्टफोन चलाउन पाउने

पछिल्लो समय बच्चाहरू स्मार्टफोनमा घण्टौ बिताउने समस्या बढिरहेको छ । यसबाट बच्न चीनको साइबर स्पेस नियामकले १८ वर्ष मुनिका बच्चाहरूलाई स्मार्टफोनमा खर्च गर्न दिनको अधिकतम दुई घण्टाको सीमा तोक्ने भएको छ, जसका कारण प्राविधिक कम्पनीहरुको शेयरमा भारी गिरावट आएको छ ।

साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) ले स्मार्ट उपकरण निर्माताहरूले १८ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई राति १० बजेदेखि बिहान ६ बजेको बीचमा मोबाइल उपकरणहरूमा इन्टरनेट पहुँच गर्नबाट रोक्न सक्ने माइनर मोड कार्यक्रम प्रस्तुत गर्न चाहेको बताएको छ ।

यससँगै यी कम्पनीहरूले समयसीमा पनि तोक्नुपर्नेछ । चीनमा १६ देखि १८ वर्षका प्रयोगकर्ताहरूले मोबाइल फोनमा दिनमा दुई घण्टा, आठ देखि १६ वर्षका प्रयोगकर्ताहरूलाई एक घण्टा र आठ वर्ष मुनिका बालबालिकालाई आठ मिनेट मात्रै बिताउन अनुमति दिइनेछ । यस सम्बन्धमा सेप्टेम्बर २ सम्म जनतासँग प्रतिक्रिया मागिएको छ ।

सीएसीको यो निर्णयका कारण चिनियाँ प्राविधिक कम्पनीको सेयरमा भारी गिरावट आएको छ । सामाजिक सञ्जाल एप वि च्याट सञ्चालन गर्ने टेन्सेन्ट होल्डिङ्सको शेयर २.९९ प्रतिशतले घटेको छ । यसबाहेक बिलिबिली र कुआइसुको सेयर क्रमशः ६.९८ र ३.५३ प्रतिशतले घटेको छ ।

कानून फर्म शाङ्घाई शेनलुनका वकिल सिया हेलोङले नयाँ नियमहरू इन्टरनेट कम्पनीहरूको लागि टाउको दुखाइ हुने बताए । अधिकारीहरू विगत केही वर्षहरूमा चिनियाँ युवाहरूमा मायोपिया र इन्टरनेट लतको वृद्धिको बारेमा चिन्तित छन् ।

चिनियाँ सरकारले करिब दुई वर्षअघि १८ वर्ष मुनिका भिडियो गेम खेलाडीहरूलाई प्रतिबन्ध लगाएको थियो । यसले टेन्सेनट जस्ता ठूला गेमिङ कम्पनीहरूलाई ठूलो नोक्सान पुर्यायो ।

बिलीबिली, कुुआइसाउ र बाइटडान्स जस्ता भिडियो सेयरिङ प्लेटफर्महरूले वर्षौंदेखि बालबालिकाहरूका लागि सामग्री र प्रयोगको अवधिमा प्रयोगकर्ताहरूको पहुँचलाई प्रतिबन्धित गर्ने छुट्टै मोडहरू प्रस्ताव गरेका छन् ।