नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । एशियाली विकास बैंकको ३७ करोड ७९ लाख सहुलियत ऋण सहयोगमा तयार भएका ५१ वटा चार्जिङ स्टेशन बुधबारदेखि सञ्चालनमा आएका हुन् ।
काठमाडौं उपत्यकामा सात वटा, धादिङको मलेखुमा दुईवटा तथा वीपी राजमार्गमा दुईवटा चार्जिङ स्टेसन निर्माण गरिएको छ । यस्तै हेटौंडा र भरतपुरमा दुई दुई वटा, मुग्लिन/कुरिनटारमा ४ वटा, बनेपामा एउटा, वीरगंज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहपुर, महोत्तरीको बर्दिवास, सप्तरीको राजविराज, धनुषाको ढल्केबर र जनकपुरधाममा एक एक वटा चार्जिङ स्टेसन बनाइएको छ ।
यसका साथै नवलपुर, दमौली र स्याङ्जामा एक एक वटा तथा पोखरामा तीन वटा चार्जिङ स्टेसन निर्माण गरिएको छ । पश्चिम नवलपरासी, नेपालगञ्ज र सुर्खेतमा एक एक वटा, दाङमा दुईवटा तथा बुटवलमा तीन वटा,झापाको दमक, भद्रपुर र कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा चार्जिङ स्टेसन निर्माण गरिएको छ ।
५१ वटा चार्जिङ स्टेसनको नियन्त्रण काठमाडौंबाट हुनेछ । सवारीसाधन चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड स्क्यान गरेर र मोबाइल एपबाट पैसा भुक्तानी गर्न सक्नेछन् ।
हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिएको प्राधिकरणको भनाइ छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन् ।
चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत सम्भारका लागि चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड जियाङ्सुले कर बाहेक ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का पाएको थियो । अब ५ वर्षसम्म चार्जिङ स्टेशनको मर्मतसम्भार ठेक्का पाउने कम्पनीले नै गर्नेछ ।