ठूला इलेक्ट्रिक भेहिकल (इभी) कम्पनी मध्येको टेस्लाको चाइना फ्याक्ट्रीले चार वर्षमा २० लाख युनिट कार उत्पादन गरेको छ । यस कारखानामा टेस्लाको मोडल ३ र मोडल वाई इलेक्ट्रिक कार बन्छन् । यी कारहरू चीनमा बिक्री र निर्यात पनि गरिन्छ ।
यो कम्पनीको लागि भोल्युमको आधारमा सबैभन्दा ठूलो कारखाना हो । टेस्लाका लागि चीन ठूलो बजार हो । गत महिना, कम्पनीले चीनमा ८४,१५९ यूनिट बेचेको थियो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.३ प्रतिशतले बढी हो । हालै टेस्लाले मोडल ३ र मोडल वाईको मूल्य घटाएको छ, जसका कारण कम्पनीको बिक्री ह्वात्तै बढेको छ ।
चीनको सांघाईमा रहेको कारखानामा हरेक ४० सेकेन्डमा एउटा विद्युतीय कार उत्पादन हुने हालै रिपोर्ट आएको थियो । पछिल्ला केही त्रैमासिकदेखि टेस्लाका सीईओ, एलन मस्कले उत्पादन बढाउन जोड दिइरहेका छन् ।
टेस्लाको भारतमा कारखाना स्थापना गर्ने योजना पनि अगाडि बढिरहेको छ । हालै कम्पनीका वरिष्ठ अधिकारीहरूले भारतको केन्द्र सरकारका वरिष्ठ अधिकारीहरूसँग बैठक गरेका थिए । कम्पनीको घरेलु इकाई टेस्ला इन्डिया मोटर एण्ड इनर्जीले महाराष्ट्रको पुणेस्थित विमान नगरमा एउटा कार्यालय भाडामा लिएको छ ।
टेस्लाले करिब दुई वर्षअघि बेंगलुरुमा आफ्नो सहायक कम्पनी दर्ता गरेको थियो । तर, कम्पनीले भारतमा व्यवसाय सुरु गर्न लामो समय लगाएको छ । कम्पनीको कारखानाको वार्षिक क्षमता करिब पाँच लाख युनिट हुन सक्छ । भारतमा बनेको कम्पनीको इलेक्ट्रिक कारको मूल्य २० लाख भारतीय रुपैयाँदेखि सुरु हुन सक्छ ।