कीवर्डहरू -

यूनेस्कोसँगको सहकार्यमा असोज १९ गतेदेखि ३ दिने ‘एमबीएम आईडियाएक्स ह्याकाथन’ हुँदै

यूनेस्कोसँगको सहकार्यमा असोज १९ गतेदेखि ३ दिने ‘एमबीएम आईडियाएक्स ह्याकाथन’ हुँदै

यूनेस्को (UNESCO) सँगको सहकार्यमा एमबिएम आईडियाएक्स (MBM IDEAX) ह्याकाथन आयोजना हुने भएको छ । असोज १९ गते देखि २१ गतेसम्म काठमाडौंको मदन भण्डारी मेमोरियल कलेजमा  ह्याकाथन सञ्चालन हुनेछ ।

ह्याकाथन विशेष गरी आदिवासीहरूको भाषा, संस्कृति, अभ्यास र समुदायको संरक्षण, प्रवर्द्धन र पुनरुत्थानको प्रविधि विकासमा केन्द्रित हुनेछ । ह्याकाथनको थिम नै ‘प्रिजर्भ, प्रमोट एण्ड  रिभाइटलाइज इन्डीजीनियस लैंग्वेज, कल्चर, प्राक्टिसेज एण्ड कम्युनिटीज’ राखिएको छ ।

यो कार्यक्रम यूनेस्कोको २०२२–२०३२ को दशकलाई आदिवासी भाषाहरूको दशक (IDIL) मनाउने संकल्पको एक हिस्सा हो । एमबीएम आईडियाएक्स ह्याकाथनका आयोजकका अनुसार कार्यक्रममा विशेषगरी प्रविधि क्षेत्रमै लागिरहेकाहरुले सहभागिता जनाउने छन्, जसमा सफ्टवेयर निर्माता, डेटा वैज्ञानिक र डिजाइनरहरु रहनेछन् ।

सबै सहभागीहरू आदिवासी भाषाहरूको संरक्षण र प्रवर्द्धन गर्न नवीन विचार र समाधानहरू सिर्जना गर्नमा केन्द्रित हुनेछन् । कार्यक्रममा कीनोट भाषण, एआइ र कोडिंगमा आधारित वर्कशप लगायतका गतिविधि हुनेछन् । यस बाहेक ह्याकथन हुनु अगाडि प्रि इभेन्ट समेत हुनेछन् ।

नेपालमा सञ्चालन भएका ह्याकाथनहरु मध्ये एमबिएम आइडियाएक्स बेग्लै रहेको एमबिएम आइडियाएक्स ह्याकाथनका आयोजक सदस्य बंशज पौडेलले बताए । 'अहिलेसम्म नेपालमा कृषि, स्वास्थय, दिगो विकास लक्ष्य, ब्लकचेन जस्ता विषयहरुमा मात्रै ह्याकाथन आयोजन हुँदै आएका छन् तर इन्डीजीनियस लैंग्वेजमा ह्याकाथन भएको यो प्रथम पटकनै हो,' उनले भन, 'योसँगै ह्याकाथनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार आयोजना गर्दैछौ । यसमा सहभागी हुन प्रस्ताव पठाउनु पर्नेछ । प्रस्ताव छनौट भएपछि मात्र ह्याकथनमा सहभागी हुन पाइने छ ।'

अन्य ह्याकथमा रेजिष्ट्रेसन फर्म भरेर सहभागीता जनाउन सकिन्थ्यो । तर आईडियाएक्स ह्याकाथनमा हुन सुरूमा आफ्नो आईडियाको प्रस्ताव पनि पेश गर्नुपर्छ । त्यसपछि अनलाइन राउन्डका लागि प्रस्ताव छनौट हुन्छन । अनलाइन राउण्डमा सहभागीहरुले प्यानलका अगाडि आफ्नो विचार तीन मिनेट भित्रमा प्रस्तुत गर्नेुपर्ने हुन्छ । त्यसपछि मात्रै छनोट भएर मात्रै आइडियाएक्समा सहभागी हुन् पाउनेछन् ।

अहिलेसम्म नेपाल र भारतबाट सहभागीताका लागि रजिष्ट्रेसन आएको छ । ह्याकाथन एउटा सामाजिक कोडिङ कार्यक्रम हो, जसले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) को प्रयोग गरेर प्रस्तुत समस्याको समाधान खोज्न कोडर, विकासकर्ता, नवप्रवर्तक र लर्नरहरूलाई आकर्षित गर्छ ।

ह्याकाथनको अन्तिम लक्ष्य भनेको दिइएको समस्यालाई सम्बोधन गर्न प्रोटोटाइपहरू (जसलाई थप विकसित गरिनेछ) विकास गर्नु हो । एमबिएम आईडियाएक्स ह्याकाथन ४८ घण्टासम्म चल्ने ह्याकाथन हो, जुन अनलाइन र अन साइट गरेर दुई माध्यमबाट सञ्चालन हुने जनाइएको छ ।

तपाई आदिवासीहरूको भाषा, संस्कृति संवर्द्धन र प्रवर्द्धनमा तपाईको कुनै आईडिया छ भने यहाँ क्लिक गरेर प्रस्ताव पठाउन सक्नुहुनेछ । रजिष्ट्रेसन फर्म असोज ३ गतेसम्म भर्न सकिने छ ।