कीवर्डहरू -

कोड फर चेञ्जले राष्ट्रियस्तरको ह्याकाथन आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

कोड फर चेञ्जले राष्ट्रियस्तरको ह्याकाथन आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

विगत ६  वर्षदेखि विभिन्न किसिमका कार्यक्रमहरूको माध्यमबाट प्रविधिको क्षेत्रमा योगदान पुर्याउंदै आएको कोड फर चेन्जले गत वर्ष झैं यस वर्ष पनि राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने भएको छ ।

स्थापनाकाल देखिनै यसले देशमा प्रविधिको विषय पढ्दै आएका विधार्थीहरुलाई विभिन्न वर्कसप, वेबिनार तथा ह्यकाथोनहरु गर्दै व्यक्तिगत तथा व्यावसायिक सिप वृद्धिमा सहयोग पुर्याउंदै आइरहेको छ ।

वर्षे पिच्छे फेरिने यसको नेतृत्व र कार्यकारी टिमले सधैँ केही नयाँ र उपयोगी काम गरिरहेका हुन्छन् भने फरक किसिमका कार्यक्रमको माध्यमबाट गैर प्राविधिक मानिसहरूलाई समेत देशको कुना काप्चामा पुगेर प्रविधिको ज्ञान बाँडिरहेका हुन्छन् ।

गत वर्षको कोडफेस्टमा विधार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको र केही हदसम्म यसको योजनाले पनि सार्थकता पाएको कुरालाई आत्मसाथ गर्दै यस वर्ष अझ सुधार गरेर राष्ट्रिय स्तरको ह्याकाथन आयोजना गर्ने योजना बनाइरहेको छ । कोडफेस्ट नेपालमा हुने सबैभन्दा ठुलो आईटी ह्यकाथोन हो, जसले आइटीका विद्यार्थीहरूलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यावहारिक अनुप्रयोगहरू प्रदर्शन गर्न र त्यसका लागि एक्सपोजर अवसर प्रदान गर्ने उद्देश्य राखेको छ ।

कोडफेस्ट २०२३ ले समाजमा सकारात्मक प्रभावहरू सुनिश्चित गर्न समाजका विभिन्न ठाउँमा रहेका समस्याको उजागर गर्दै समाधानको उपाए निकाल्न कोसिस गर्नेछ । उक्त कार्यक्रम ७  दिगो विकासका लक्ष्यहरू (SDGs) वरिपरि केन्द्रित चुनौतीहरूसँग रहने जानकारी गराइएको छ।

दिगो विकासका लक्ष्यहरु मध्ये ३, ४, ५, ९, ११, १३ र १६ नम्बर बुँदाहरुमा आधारित भएर उक्त सात थिममा परियोजना छनौट हुने आयोजक संस्था कोड फर चेञ्जका परियोजना प्रमुख कृष्ण प्रसाद पोख्रेलले जानकारी दिए ।

यस पटक गुड हेल्थ एण्ड वेल बीईङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटी, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड स्ट्रङ इन्स्टिच्युसनमा आधारित रहेर समस्या समाधान गर्ने खालको परियोजना छनौट गरिने छ । प्रोजेक्ट छनौट भएपछि बीचमा प्रतिष्पर्धा गराई उत्कृष्ट टीमहरुलाई विशेष पुरस्कारसहित विभिन्न ठाउंहरुमा अवसर प्रदान गरिने छ ।

कोडफेस्ट २०२३ को विजेता टिमले ५० हजार नदसहित अन्य थप पुरस्कार पाउने छ भने फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार रूपैयाँ नगदसहित थप पुरस्कार पाउने छन् ।

साथै टप ३ टिमले निःशुल्क होस्टिङ प्राप्त गर्नेछन भने सहभागी सबै टिमलाई होस्टिङ सेवामा ३० प्रतिशत छुट दिइनेछ । राम्रो Idea  लाई startup को लागि पनि आवश्यक प्रबन्ध मिलाइनेछ।

कोडफेस्ट ह्याकाथनको प्रारम्भिक तयारी शुरु भई दर्ता प्रक्रिया सम्म अगाडि बढिसकेको छ भने यसमा सबै किसिमका विद्यार्थीहरुले आफ्नो टिम बनाएर दर्ता गराउन सक्नेछ । एउटा टिममा कम्तीमा २ जना र बढीमा ४ जना सहभागी हुन पाउनेछन । सहभागीहरु नेपालको जुनसुकै कलेजमा पनि ब्याचलर अध्ययन गरिरहेको हुनु पर्नेछ ।

टिम दर्ता शुल्क प्रति टिम २ हजार रूपैयाँ रहेको छ भने टिम काठमाडौ आइसकेपछि ह्याकाथन अवधिमा  सम्पूर्ण सहभागीहरुको खाना र बस्ने व्यवस्था आयोजकले नै गर्नेछ ।

उक्त ह्याकाथन नेपालका सातै वटा प्रदेशहरुमा सेप्टेम्बरको २१ देखि २८ सम्म गराइनेछ भने प्रदेशबाट छानिएर आएका ७ टिमको प्रतिष्पर्धा भने देशको राजधानी काठमाण्डौमा अक्टोबर ६, ७ र ८ मा आयोजना हुने योजना बनाइएको छ । इच्छुक विधार्थीहरुले यहाँ क्लिक गरि आजै आफ्नो टिम दर्ता गराउन सक्नुहुनेछ ।